एमाले ताप्लेजुङ अध्यक्षमा थेबे निर्वाचित



ताप्लेजुङ, २७ पुस

नेकपा (एमाले) ताप्लेजुङको अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित हुनुभएको छ ।

प्रतिस्पर्धामा रहनुभएका बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै थेबे अध्यक्षमा निर्वाचित हुनुभएको हो । थेबेले ३२९ मत प्राप्त गर्नुभएको छ भने साम्सोहाङले २७३ मत प्राप्त गर्नुभएको छ । एमाले ताप्लेजुङको सहसंयोजक रहनुभएका थेबेले संयोजक साम्सोहाङलाई पराजित गर्नुभएको हो ।

जिल्ला कमिटीको उपाध्यक्षमा सन्तोष खतिवडा निर्वाचित हुनुभएको छ । उहाँले ३३१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी मातृकाप्रसाद भट्टराईले २४६ मत प्राप्त गर्नुभयो ।

यस्तै सचिवमा केशरकुमार मेन्याङ्बो २९६ मत सहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी मंगलसिंह केदेमले भने २८० मत प्राप्त गर्नुभयो । उपसचिवमा मणीशंकर पोमु र दीपेन्द्र पोमु (दीपेन) निर्वाचित हुनुभएको छ । उहाहरुले क्रमशः २७७ र ३८३ मत प्राप्त गर्नु भयो ।

उपसचिव पदमा प्रतिस्पर्धामा रहेका लिलाचक्र गुरुङ र सन्तोष चोङ्वाङले भने क्रमस १५८ र १८२ मत प्राप्त गर्नुभएको छ । एमाले ताप्लेजुङको ११ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन भएको थियो ।

यस्तै खुला सदस्य तर्फ १३ जना, महिला तर्फ ६ जना, दलित तर्फ ३ जना र भूगोलतर्फको २ जना सदस्यका लागि निर्वाचन भएको थियो । नौँ वटा स्थानीय तह मध्ये फुङलिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिका बाहेकका अन्य तहबाट आउने भूगोलतर्फका सदस्य सर्वसम्मत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्