पाँचथरमा एमालेको ७५ सदस्यीय जिल्ला कमिटी बन्ने



पाँचथर, २४ पुस । पाँचथरमा नेकपा (एमाले) को जिल्ला कमिटी ७५ सदस्यीय बन्ने भएको छ ।

हिँजोबाट सुरु भएको एमाले जिल्ला कमिटीको आठौं अधिवेशनअन्तर्गत जारी बन्द सत्रमा अध्यक्ष मण्डलले प्रस्ताव गरेअनुसार ७५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने भएको हो ।

एमालेको विधान तथा अन्तर पार्टी निर्देशनले एक संघीय निर्वाचन क्षेत्र भएको जिल्लामा ९० जनासम्मको जिल्ला कमिटी निर्वाचित हुनसक्ने ब्यवस्था गरेको भएपनि पाँचथरमा ७५ जनाको जिल्ला कमिटी चयन चयन गर्ने प्रस्ताव बन्द सत्रले पारित गरेको हो । बन्द सत्रले अध्यक्ष राजकुमार भण्डारीले पेश गर्नुभएको राजनीति तथा सांगठनिक प्रतिवेदन र कार्यालय सचिव पृथ्वी लावतीले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको एमाले पाँचथरले जनाएको छ ।

७५ मध्ये पाँच जना पदाधिकारी तथा ७० जना सदस्य रहने छन् । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक/एक जना तथा उपसचिव दुई जना निर्वाचित हुने छन् । सबै पदाधिकारी खुल्ला क्षेत्रबाट निर्वाचित हुने छन् ।

सदस्यहरु भने खुल्ला, भूगोल र समावेशी समूहबाट निर्वाचित हुने एमालेका केन्द्रीय सदस्य एवं पाँचथरका इन्चार्ज वसन्तकुमार नेम्वाङले जानकारी दिनुभयो । जसअनुसार जिल्लाका सात वटा गाउँपालिकाबाट एक जना महिला र दुई जना पुरुषका दरले तीन/तीन जना सदस्य, दलितबाट एक जना महिला र चार जना पुरुष गरी पाँच जना सदस्य, महिला खुल्लाबाट १५ जना सदस्य, आदिवासी जनजाति खुल्लाबाट ७ जना सदस्य र खुल्ला क्षेत्रबाट १६ जना सदस्य निर्वाचित हुनेछन् ।

हिँजोबाट सुरु भएको बन्द सत्रमा कतिपय गाउँपालिकाहरुले भूगोलबाट निर्वाचित हुने तीन जना सदस्यहरु सहमतिमा टुङ्ग्याएका छन् भने कतिपयले टुङ्ग्याउन बाँकी छ । अधिवेशनअन्तर्गत मतदाता (प्रतिनिधि) प्रकाशनसहित निर्वाचनका कार्यक्रम अहिले दिउँसोबाट सुरु भएको छ ।

एमाले पाँचथरको अध्यक्षमा राजकुमार भण्डारी सर्वसम्मत निर्वाचित हुने सम्भावना छ । अहिलेसम्म अध्यक्ष पदमा अर्को दाबेदार देखिएका छैनन् । तर बाँकी चार जना पदाधिकारीका लागि भने १० जनाभन्दा बढी आकाङ्क्षी रहेका एमाले अधिवेशनका प्रतिनिधिहरु वताउँछन् । यद्यपि सहमतिमा नयाँ नेतृत्व चयन हुने भएकाले पदाधिकारीका आकाङ्क्षीहरुले आन्तरिक रुपमा मात्रै आफ्नो दाबी पेश गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्