एमाले पाँचथरको आठौँ जिल्ला अधिवेशन सुरु, जिल्ला इन्चार्ज नेम्वाङद्वारा उद्घाटन



पुस, २३ पाँचथर । नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशन फिदिममा सुरु भएको छ ।

फिदिम स्थित जिल्ला समन्वय समितिको कभर्डहलमा आयोजना गरिएको अधिवेशनमा दीप प्रज्ज्वलन गरी एमालेका केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला इन्चार्ज वसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभयो ।

जिल्लाका ६० वटै वडाबाट आएका प्रतिनिधिहरु, पाँचथर–काठमाडौं सम्पर्क मञ्चबाट आएका प्रतिनिधिहरु, जिल्ला स्थित भातृ संगठनबाट छानिएका प्रतिनिधिहरु तथा आयोजक कमिटीका सदस्यहरु सहभागी अधिवेशनको उद्घाटन कार्यक्रमपछि बन्द सत्र हुनेछ ।

अधिवेशनको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि नेम्वाङसहित एमाले केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला सहइन्चार्जद्वय अइन्द्रसुन्दर नेम्वाङ र श्रीप्रसाद जबेगू तथा केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले सम्बोधन गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै एमालेका चारै जना केन्द्रीय सदस्यहरुले तीनै तहका निर्वाचनमा विजय हाँसिल गर्दै समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्ने एमालेद्वारा सुरुआत भएको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्घाटन कार्यक्रमलाई एमाले प्रदेश कमिटीका सदस्य एवं प्रदेश नं. १ का प्रदेशसभा सदस्य आशारत्न जबेगू, नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाँचथरका सचिव दीपक नेपाल, नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य देवी थापा मगर र जनता समाजवादी पार्टी पाँचथरका सचिव कमलराज नेम्वाङले सम्बोधन गर्दै शुभकामना मन्तब्य राख्नुभएको थियो ।

एमाले पाँचथरका सचिव धनकुमार फियाकले सञ्चालन गर्नुभएको कार्यक्रममा एमाले पाँचथरका उपाध्यक्ष एवं हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले स्वागत मन्तब्य राख्दै वर्तमान जिल्ला कमिटीको अगुवाईमा पाँचथर जिल्लालाई एमालेले नेतृत्व प्रदान गरेको वताउनुभयो ।

कार्यक्रममा याङवरक गाउँपालिका वडा नं. ४ बाट विजयबहादुर योङहाङ सहित नेपाली काँग्रेसबाट १७ जना र फाल्गुनन्द गाउँपालिकाबाट काँग्रेस र लिम्बुवानमा आवद्ध धड्कन चेम्जोङ, पूर्ण चेम्जोङ, शम्भु चेम्जोङ र सरोज चेम्जोङ एमालेमा प्रवेश गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्