विकास र समृद्धिको निरन्तरताका लागि एमाले चनाखो र चिन्तित छ : पूर्वमन्त्री नेम्वाङ



फिदिम । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले नेकपा (एमाले)को चिन्ता विकास र समृद्धिका कामहरु रोकिएलान् कि भन्ने मात्रै रहेको वताउनुभएको छ ।

वर्तमान सरकारको गठनदेखि विकास निर्माणका कामहरुले गति लिन नसक्दा आशंका बढेको नेम्वाङको भनाई छ । पाँचथरको याङवरक गाउँपालिका वडा नं. ५ को वडा कार्यालय भवनको याङवरक–५ हिटिधारामा उद्घाटन गरेपछि बोल्दै पूर्वमन्त्री नेम्वाङले एमालेको चिन्ता र चासो जनतालाई सुख सुविधा हुने र समृद्धिका आधारका रहेका कामहरु नरोकिउन भन्ने मात्रै रहेको वताउनुभयो ।

“जनताका सुख र समृद्धिका लागि सुरुआत भएका कामहरु, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका कुराहरु, गाउँ–गाउँ पुगेको विद्युत, चार हजार पुगेको सामाजिक सुरक्षा भत्ता, ठूला विकासका पूर्वाधारहरु पूरा होलान् कि नहोलान् भन्ने आशंका देखिएको छ”, नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहनुभएका नेम्वाङले भन्नुभयो, “कथमकदाचित हामीले जनताका लागि गरेका विकासका योजनाहरु ओझेलमा त पदैनन् ? यो हो हाम्रो चिन्ताको विषय ।”

तर जनताको विकास र समृद्धिका चाहनाअनुसार सुरुआत भएका कामको निरन्तरताका लागि एमालेले खवरदारी गरिरहने उहाँले वताउनुभयो । “कालोपत्रे सुरुआत भएका सडकको काम नरोकियो । चार हजार पुगेको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुगोस । गाउँ–गाउँमा टाँगिएका तारमा विद्युत जोडियोस्”, उहाँले भन्नुभयो, “समृद्धिका अभियानमा सुरुआत भएका कामहरु अब रोकिनु हुन्न भन्ने मात्रै हाम्रो कुरा हो ।” विकास र समृद्धिको अभियानमा सचेत भएर बस्न र आवश्यकताअनुसार खवरदारी गर्न उहाँले आम नागरिकलाई आह्वान समेत गर्नुभयो ।

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाबाट कुनै पनि सरकार अलग हुन नसक्ने वताउँदै पूर्वमन्त्री नेम्वाङले घरबारविहीनले घर पाउने, फुसको छानो हुनेले जस्तापाता पाउने, दलित, अपाङ्ग, अशक्त तथा जेष्ठनागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि हुँदै जाने कुरालाई रोक्ने र अवरुद्ध पार्ने कल्पना समेत नगर्न उहाँले चेतावनी दिनुभयो ।

याङवरक गाउँपालिकाले पूर्वाधार र समृद्धिको जग निर्माणमा गरेको प्रगति महत्वपूर्ण रहेको वताउँदै पूर्वमन्त्री नेम्वाङले याङवरकमा प्रशासकीय भवन, खेलकूद ग्राम निर्माण, आधारभूत अस्पताल र निशान धाममा पर्यटकीय पूर्वाधार निर्माण एकैसाथ सुरुआत गर्न पाउनु गौरवको विषय भएको वताउनुभयो । वडा कार्यालय उद्घाटनपछि उहाँले भन्नुभयो “पाँच वर्षअघि कल्पना नभएको हिटिधारामा अहिले ब्यवस्थित संरचना एमालेको नेतृत्वमा निर्माण भएको छ । पाँच वर्षअघि कसैले यो कल्पना गरेका थियौँ ?”

संघीय सरकारको सहयोगमा याङवरक गाउँपालिका वडा नं. ५ स्थित निर्माण भएको भवनको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य नेम्वाङले आज उद्घाटन गर्नुभएको हो । तीन तहको संघीय संरचनाअनुसार साविक नागी गाविसका वडा नं. १ र २ तथा साविक थर्पू गाविसका वडा नं. ६, ७, ८ र ९ लाई समेटेर निर्माण गरिएको यो वडामा वडा कार्यालय भवन थिएन । नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री छँदा स्रोत सुनिश्चित गरिदिए पछि वडा कार्यालय निर्माण सम्भव भएको याङवरक–५ का वडाध्यक्ष टेकनाथ न्यौपानेले वताउनुभयो ।

कार्यक्रममा हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेन, नेकपा (एमाले) पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, नेपाली काँग्रेस पाँचथरका सभापति रुपनारायण जबेगू, याङवरक गाउँपालिका वडा नं. १ का अध्यक्ष मोहनकुमार ढुङ्गेल, वडा कार्यालयसँग इतिहास जोडिने बाँस्कोटा समाजका अध्यक्ष केदारनाथ बाँस्कोटा, जग्गादाता चन्द्रमणि बाँस्कोटा लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङले भवन निर्माणको विस्तृत विवरण सहित गाउँपालिकाले हालसम्म प्राप्त गरेका उपलब्धिको चर्चा गर्नुभएको थियो । कार्यक्रममा वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्