एमाले पाँचथरको आठौँ जिल्ला अधिवेशन शुक्रवारबाट, छ सय बढी प्रतिनिधि सहभागी हुने



पाँचथर, २२ पुस ।

नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको आठौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

भोलि दिउँसोबाट फिदिम स्थित जिल्ला समन्वय समितिको कभर्डहलमा सुरु हुने अधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको हो । जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन तथा ब्यवस्थापन, अधिवेशनस्थल ब्यवस्थापन लगायतका सम्पूर्ण काम सम्पन्न भएको एमाले पाँचथरको आठौँ जिल्ला अधिवेशन ब्यवस्थापन समितिका संयोजक एवं फिदिम नगरपालिका वडा नं. १ का वडाध्यक्ष गजाधर भट्टराईले जानकारी दिनुभयो ।

एमाले पाँचथरको अधिवेशनमा भौगोलिक तथा गैरभौगोलिक क्षेत्र र जिल्ला सम्मेलन आयोजक समितिका सदस्यहरु गरी कूल ६०७ जना प्रतिनिधि सहभागी हुनेछन् । जिल्लाका आठ वटा स्थानीय तहका ६० वडाहरु, पाँचथर–काठमाण्डौं सम्पर्क मञ्च तथा जिल्ला स्थित भातृ संगठनका तर्फबाट प्रतिनिधिहरु चयन भएका हुन् ।

एमालेको जिल्ला कमिटीमा पाँच जना पदाधिकारी र ७० जना सदस्य निर्वाचित हुनेछन् । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक एक जना तथा उपसचिव दुई जना रहने छन् । पदाधिकारीमा आरक्षणको ब्यवस्था गरिएको छैन् । सदस्य भने भौगोलिक, खुल्ला र आरक्षण समूहबाट निर्वाचित हुने एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिनुभयो ।

भौगोलिकमा जिल्लाका सात वटा गाउँपालिकाबाट एक महिला र दुई पुरुष गरी तीन जना तथा फिदिम नगरपालिकाबाट दुई महिला र चार पुरुष गरी छ जना सदस्य निर्वाचित हुनेछन् । खुल्ला सदस्य तथा आरक्षण समूहबाट निर्वाचित हुने सदस्यको संख्या आज बसिरहेको वर्तमान जिल्ला कमिटीको अन्तिम बैठकले निर्धारण गर्ने भएको छ ।

एमालेमा सहमतिमा नयाँ नेतृत्व सहित जिल्ला कमिटी चयन हुने सम्भावना अधिक छ । एमालेका केन्द्रीय सदस्य, पाँचथर जिल्ला इन्चार्ज समेत रहनुभएका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङको प्रमुख आतिथ्यतामा अधिवेशन आयोजना गरिएको हो । भोलि उद्घाटन सत्र सम्पन्न भएपश्चात बन्द सत्र समेत सुरुआत हुने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्