नागरिकता वितरण सहज बनाउन जनप्रतिनिधिद्वारा ध्यानाकर्षण



फिदिम, १९ पुस

नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सेवाग्राहीले अनावाश्यक झण्झट र समस्या ब्यहोर्नु पर्ने अवस्था अन्त्य गर्न पाँचथरका जनप्रतिनिधिहरुले ध्यानाकर्षण गराएका छन् ।

आज प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई भेटेर पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ सहितका जनप्रतिनिधिहरुले यस्तो समस्या तत्कालै समाधान गर्न ध्यानाकर्षण गराएका हुन् । जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको एक सातासम्म समेत सेवाग्राहीले नागरिकताको प्रमाणपत्र तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि नपाएको, नागरिकताको प्रमाणपत्रसम्बन्धी सामान्य विषयमा समेत प्रहरी मुचुल्का तयार पार्न प्रशासनले सिफारिस गर्ने गरेको गुनासो सुनिने गरेका छन् ।

समयमा काम नहुँदा सेवाग्राहीले सदरमुकाममा बसेर दैनिक जिल्ला प्रशासन कार्यालय धाउँदा ठूलो आर्थिक भार पर्नुका साथै प्रशासनको सेवा प्रवाहका विषयमा आम नागरिकमा तीब्र असन्तुष्टि पैदा भइरहेको वताउँदै जनप्रतिनिधिहरुले यस्तो अवस्था तत्कालै हल गर्न आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री नेम्वाङ सहित जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा र उपप्रमुख डिल्लीराम दुलाल, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ, याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेन, फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङ, कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ र तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले आज सामूहिक रुपमा प्रजिअ न्यौपाने सहित सुरक्षा निकायका प्रतिनिधिलाई भेटेर यस्तो ध्यानाकर्षण गराएका हुन् । सो क्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु समेत सहभागी थिए ।

“सेवाग्राहीले निवेदन दिएपछि कागजात पुगे नपुगेको समयमै हेरेर प्रक्रिया अगाडि बढाउन आवश्यक कागजातबारे जानकारी दिन तथा सामान्य विषयमा प्रहरी मुचुल्काका लागि सिफारिस गर्ने कार्य रोक्न हामीले भनेका छौँ”, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले भन्नुभयो, “तत्कालै समस्या हल गर्न आवश्यक सबै उपायहरु अपनाउनु आवश्कय रहेको हाम्रो निश्कर्ष हो ।” सेवाग्राहीहरुले आफ्नो निवेदन कर्मचारीसम्म पु¥याउनै समय लाग्ने गरेको र त्यसपछि मात्रै कागजात नपुगेको, प्रक्रिया नमिलेको जस्ता विषय कर्मचारीले उठाउँदा सेवाग्राहीले हैरानी ब्यहोर्नु परेको विषयमा गम्भीर बन्न जनप्रतिनिधिहरुले आग्रह गरेका हुन् ।

जनशक्तिको अभाव पूर्ति गर्न तथा समय लम्ब्याएर भएपनि दैनिक रुपमा सेवाग्राहीका काम पूरा गर्न जनप्रतिनिधिले जोड दिएका छन् । समयमा काम नहुँदा जनस्तरमा जिल्ला प्रशासन कार्यालयको सेवाबारे गलत सन्देशहरु प्रवाह भइरहेको पाइएकाले आगामी दिनमा सरकारी निकायहरु सचेत र गम्भीर हुनु आवश्यक देखिएको पूर्वमन्त्री नेम्वाङको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्र लिन सेवाग्राहीले झण्झट ब्यहोर्नु परेको भन्दै गुनासो बढिरहेको छ । स्थानीय तहको निर्वाचन हुने चर्चापछि नागरिकताको प्रमाणपत्र लिने सेवाग्राहीको संख्यामा वृद्धि भएपछि प्रशासनको सेवा प्रवाहबारे प्रश्नहरु उठ्न थालेका हुन् । प्रशासनमा दैनिक औषत १०० जना सेवाग्राही नागरिकताको प्रमाणपत्र तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिनमा लागि पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्