तीन बुँदे मागसहित पाँचथरमा अनेरास्ववियुले थाल्यो हस्ताक्षर संकलन



फिदिम, १९ पुस

तीन बुँदे माग सहित पाँचथरमा नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुले दबावमूलक हस्ताक्षर संकलन अभियान थालेको छ ।

अनेरास्ववियुले आज पाँचथर बहुमुखी क्याम्पस फिदिमबाट हस्ताक्षर संकलन थालेको हो । अघिल्लो सरकारले घोषणा गरेको शैक्षिक कर्जा (अध्ययन प्रमाणपत्र धितो राखेर ऋण दिने ब्यवस्था) अबिलम्ब लागू गर्नुपर्ने, सार्वजनिक यातायातका साधनमा विद्यार्थीलाई दिने भनिएको सहुलियत पूर्ण र सहज रुपमा लागू हुनुपर्ने, बढ्दो महंगी र कालाबजारी नियन्त्रण तथा भ्रष्टाचार नियन्त्रण गर्दै विद्यार्थीका मागहरु सम्बोधन हुनुपर्ने मागका साथ हस्ताक्षर संकलन अभियान सुरुआत गरिएको अनेरास्ववियु पाँचथरका अध्यक्ष सुन्दर योङहाङले जानकारी दिनुभयो ।

दबावमूलक हस्ताक्षर संकलन अभियान पाँचथरमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य एवं पाँचथर जिल्ला इन्चार्ज दीपेन्द्र तुम्बापो सहितका नेताहरुबाट सुरुआत भएको थियो । कार्यक्रममा उक्त संगठनका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य ज्ञानु खाती, अनेरास्ववियु पाँचथरका अध्यक्ष सुन्दर योङहाङ, सचिव अर्जुन नेम्वाङ, सहसचिव बिश्वमित्र घिमिरे, कोषाध्यक्ष जीवन गौतम, राष्ट्रिय युवा संघ पाँचथरका सदस्य बासु सापकोटा, अनेरास्ववियु जिल्ला सदस्य दिनेश केरुङ सहित पाँचथर बहुमुखी क्याम्पस कमिटीका पदाधिकारी तथा सदस्यहरु तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए ।

हस्ताक्षर संकलन अभियानमा विद्यार्थी, शिक्षक तथा प्राध्यापकहरुको हस्ताक्षर संकलन गर्ने अनेरास्ववियुले जनाएको छ । यो अभियान प्रदेश नं. १ का सबै जिल्लामा सुरुआत भएको र संकलित हस्ताक्षर प्रदेश र संघीय सरकारलाई बुझाउने योजना रहेको समेत अनेरास्ववियुका जिल्ला अध्यक्ष योङहाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्