जनताको असन्तुष्टि विकासको आकाङ्क्षा हो, जनआकाङ्क्षा पूरा गर्नुपर्छ : नेम्वाङ



फिदिम, १९ पुस ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले स्थानीय तहका जनप्रतिनिधिहरुसँग जनताले ब्यक्त गरेका असन्तुष्टिहरु विकासका आकाङ्क्षा भएको वताउँदै जनआकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बजेट र अधिकारसहितका स्थानीय सरकार प्राप्त गरेपछि जनतामा आफ्नो गाउँ–घरको मुहार बदलिएला भन्ने आशा जागेको र त्यहि आशा पूरा नहुँदा जनताले गाली गर्ने गरेको भन्दै नेम्वाङले त्यस्ता असन्तुष्टिलाई स्वभाविक रुपमा लिनुपर्ने वताउनुभयो । जिल्ला समन्वय समिति पाँचथरको पाँचौं जिल्ला सभालाई आज फिदिममा आयोजित कार्यक्रममा उद्घाटन गरेपछि आफ्नो धारणा राख्दै पूर्वमन्त्री नेम्वाङले सरकारहरुसँग जनताले गर्ने गुनासोलाई अन्यथा लिन नहुने वताउनुभयो ।

“यो सभा पाँचौ सभा मात्र होइन, स्थानीय सरकारको समीक्षाको समय पनि हो”, नेम्वाङले भन्नुभयो, “अव जनआकाङ्क्षा पूरा भए कि भएनन्, जनप्रतिनिधिसँगै जनताले पनि समीक्षा गर्छन् ।” नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य समेत रहनुभएका नेम्वाङले अब नेपालमा आन्दोलनको आवश्यकता नरहेको वताउनुभयो । सबै खालका राजनीतिक उपलब्धिहरु प्राप्त भइसकेकाले अब त्यसलाई जोगाउनतर्फ सबै शक्ति लाग्नुपर्ने उहाँको भनाई छ ।

“हामीले धेरै पटक धेरै खालका आन्दोलनहरु गरेर ठूलो उपलब्धि प्राप्त गरेका छौँ”, नेम्वाङले भन्नुभयो, “अब आन्दोलन गर्नुभन्दा प्राप्त उपलब्धिलाई जोगाउनतर्फ लाग्नुपर्छ ।” अहिले अतिवादी सोचका कारण गणतन्त्र र संघीयताको विरोध भइरहेको वताउँदै नेम्वाङले त्यस्ता बिरोधको कुनै अर्थ नरहेको र मुलुकमा अब कुनै पनि मतभेद वताउनुभयो ।

नेम्बाङले एमालेले अझै पनि संसद अवरुद्ध पार्ने स्पष्ट पार्नुभयो । “एमालेले कारबाही गरेका १४ जना सांसदको पद खारेज हुनुपर्छ भन्ने एमालेको माग हो”, नेम्वाङले भन्नुभयो, “सभामुखले एमालेप्रति शौतेनी व्यवहार देखाउनुभएको छ । सभामुखले मागलाई वास्ता नगरेसम्म संसद् अवरुद्ध हुन्छ ।” राज्यका तीन निकायहरु संविधानविपरित चलेपछि कानूनको शासन लागू गराउन एमाले संसदमा आन्दोलित भएको वताउँदै उहाँले भन्नुभयो, “यी निकायहरु अहिले संबिधानलाई कुल्चेर चल्न थालेका छन् ।”

जिल्ला सभाको उद्घाटन कार्यक्रममा स्थानीय तहहरुका तर्फबाट बोल्दै फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले सिमित स्रोत साधनको उपलब्धताबाट पनि स्थानीय सरकारले जनताको सेवा र विकास निर्माणमा उल्लेख्य प्रगति गरेको वताउनुभयो । तीन तहको संघीय संरचनालाई संस्थागत गर्न धेरै काम भएको वताउँदै नेम्वाङले आगामी सरकारहरुलाई काम गर्न धेरै सहज हुने वताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीका सचिव धनकुमार फियाक, नेपाली काङ्ग्रेस पाँचथरका सभापति रुपनारायण जबेगू, जनता समाजबादी पार्टी पाँचथरका सचिव कमलराज नेम्वाङ, संघीय लिम्बुवान मञ्च पाँचथरका अध्यक्ष चन्द्रराज आङ्देम्बे, पाँचथर उद्योग बाणिज्य संघ अध्यक्ष दीपक नेपाल, जिल्ला सहकारी संघका अध्यक्ष रेणु ओझा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

जिल्ला सभामा जिल्ला समन्वय समितिका गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा समितिका सदस्य कुशल राईले समितिको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जिल्ला सभामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा सात जना सदस्यहरु र जिल्ला स्थित स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुने ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्