याङवरक–२ को वडा कार्यालय भवन उद्घाटन



थर्पु, १८ पुस

पाँचथरको याङवरक गाउँपालिका वडा नं. २ मा निर्माण भएको वडा कार्यालय भवन शनिवार उद्घाटन गरिएको छ ।

याङवरक–२, फलैंचामा शनिवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । हिमतारा आरके जेभीले रु. एक करोड ७० लाख ४८ हजार ९८२ को लागतमा उक्त भवन निर्माण गरेको हो । अढाई तले उक्त भवनको याङवरक गाउँपालिकाले संघीय सरकारसँगको साझेदारीमा निर्माण गरेको हो ।

२०७७ असार १६ गते शिलान्यास गरिएको उक्त भवन निर्धारित समय अगावै निर्माण सम्पन्न भएको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि निर्माण कम्पनीले निर्धारित समयअघि नै कार्य सम्पन्न गरेको हो । यसअघि भाडाका भवन तथा विद्यालय भवनमा सञ्चालन हुँदै आएको वडा कार्यालय अब आफ्नै भवनबाट सञ्चालन हुने भएको छ ।

उक्त वडा कार्यालय भवनको उद्घाटन गर्दै याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले वडा कार्यालयको सेवा प्रवाहलाई सहज बनाउन भवन निर्माणलाई प्राथमिकता दिई निर्माण सम्पन्न गरिएको वताउनुभयो । उहाँले संघीय संरचनालाई संस्थागत गर्न स्थानीय तहले संरचनागत विकासमा जोड दिने उल्लेख गर्नुभयो ।

विगतमा धेरै विवाद र समस्याका कारण साविक फलैंचा गाविसमा गाविसको कार्यालयको भवन समेत नभएको अवस्थामा गाउँपालिका निर्माणपछि तीन आर्थिक वर्षको बजेटबाट भवन निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । कार्यालय भवन नरहेका वडा नं. २ र ५ मा भवन निर्माण सम्पन्न भएको र गाउँपालिकाको प्रशासकीय भवन समेत निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले अर्को निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिलाई प्रशासकीय पूर्वाधार निर्माण बाहेकका कार्य गर्ने छुट आफूहरुले सिर्जना गरेको वताउनुभयो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले संघीय सरकारबाट उक्त भवन निर्माणका लागि बजेटको सुनिश्चितता गरिदिँदा सहज रुपमा भवन निर्माण पूरा गर्न सकिएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

याङवरक गाउँपालिका वडा नं. २ का वडाध्यक्ष देउकुमार योङहाङका अनुसार विगतमा विवाद, मुद्दा मामिला र क्षेत्रगत विवाद हुनाले तत्कालीन गाविसको कार्यालय समेत बन्न सकेको थिएन । स्थानीय तहको निर्वाचनपछि स्थानीय जग्गादाताले निःशुल्क जग्गा उपलब्ध गराउनुका साथै थप जग्गाको प्रवन्धका लागि चन्दा तथा सहयोग संकलन गरी जग्गा खरिद गरिएको थियो । ब्यवस्थित वडा कार्यालय भवन निर्माण गरी सेवा प्रवाह गर्न पाउँदा सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा गरेको वडाध्यक्ष योङहाङको भनाई छ । निर्माण कम्पनीका प्रनिनिधि सोमनाथ खरेलले स्थानीय आवश्यतालाई बुझेर निर्धारित समयअघि नै भवन निर्माण सम्पन्न गरिएको वताउनुभयो ।

फलैंचा बजार छेउमा वडा कार्यालयको भवन निर्माणका लागि इलाममा बसोबास गर्दै आउनुभएका राजन शिवाकोटीले आमा गंगादेवी शिवाकोटीको स्मृतिमा रु. चार लाख ५० हजार मूल्यको, ताप्लेजुङका नन्दराम बानियाँले आमा गंगादेवी बानियाँको स्मृतिमा सोही परिमाण तथा झापामा बसोबास गर्दै आएका डम्बरकुमारी खरेलले श्रीमान अग्नीप्रसाद खरेलको स्मृतिमा रु. तीन लाख मूल्यको निःशुल्क उपलब्ध गराउनुभएको थियो । यस्तै थप जग्गाको प्रवन्धका लागि यहाँका ७६ जना स्थानीयवासीले प्रतिब्यक्ति रु. पाँच हजारभन्दा बढी चन्दा संकलन गरेका थिए । जग्गा तथा चन्दा सहयोग गर्ने स्थानीयवासीलाई हिँजो आयोजित कार्यक्रममा सम्मान समेत गरिएको छ ।

कार्यक्रममा याङवरक गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष टेकनाथ न्यौपाने, वडा नं. १ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेल, नेपाली काँग्रेसका याङवरक गाउँपालिका सभापति शेरबहादुर नुगो, नेकपा (माओवादी केन्द्र)का गाउँपालिका अध्यक्ष अर्जुन बेघा, नेकपा (एमाले) वडा कमिटीका अध्यक्ष लालबहादुर बेघा सहित स्थानीय राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु, नागरिक संघ संस्थाका प्रतिनिधिहरु लगायतले समेत शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्