महिला सहकारीलाई कम्प्युटर सहितका उपकरण र एड्भान्स तालीम



पाँचथर, १३ पुस

पाँचथरको कुम्मायक गाउँपालिकाले महिला सहकारीहरुलाई कम्प्युटर सहितका विद्युतीय उपकरण उपलब्ध गराई कम्प्युटर सञ्चालनसम्बन्धी एड्भान्स तालीम सञ्चालन गरेको छ ।

कुम्मायक गाउँपालिकाले गत वर्ष पाँच वटा वडामा रहेका पाँच वटा महिला सहकारी संस्थाहरुलाई एक÷एक थान कम्प्युटर, प्रिन्टर र स्क्यान गर्ने मेसिन उपलब्ध गराएको थियो । महिला सहकारीहरुलाई प्रविधिमा आधारित लेखा ब्यवस्थापन गर्न सक्षम बनाउन तथा सूचना प्रविधिमा दक्ष बनाउन यस वर्ष गाउँपालिकाले एड्भान्स कम्प्युटर तालीम आयोजना गरेको हो ।

गाउँपालिकाको केन्द्र यासोकमा हिँजोबाट उक्त तालीम सुरुआत भएको हो । तालिममा पाँच वटै सहकारी संस्थाका दुई/दुई जना पदाधिकारी सहभागी भएको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले जानकारी दिनुभयो । तीन महिनासम्म चल्ने एड्भान्स तालीममा कम्प्युटर सञ्चालनदेखि मर्मत र सूचना प्रविधिको प्रयोगसमेतका जानकारी दिइने प्रशिक्षक मदन थापाले वताउनुभयो ।

तालीमको उद्घाटन गर्दै कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले सहकारी सहित वित्तीय संस्थाहरुको सञ्चालनमा प्रविधिको प्रयोग अत्यावाश्यक भएको देखिएपछि गाउँपालिकाले उक्त तालीम चलाएको वताउनुभयो । सहकारीमा आवद्ध ग्रामीण क्षेत्रका महिलाहरुले एड्भान्स तालीम प्राप्त गरेपछि स्वरोजगार हुन तथा सहकारी थप सुदृढ र ब्यवस्थि गर्न मद्दत मिल्ने विश्वास लिइएको अध्यक्ष चेम्जोङको भनाई छ ।

कुम्मायक गाउँपालिकामा रहेका पाँच वटै महिला सहकारीहरुले वचत तथा ऋणको परिचालनमा उल्लेख्य प्रगति गर्नुका साथै महिलाहरुको आयआर्जन अभिवृद्धिमा सहयोग गरेको भन्दै उहाँले आगामी दिनमा गाउँपालिकाले थप सहयोग गर्ने वताउनुभयो । गाउँपालिकाले महिला सहकारीका माध्यमबाट जनचेतनाको विस्तार, महिलाको क्षमता विकास र आयआर्जन अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यस क्रममा दुई वर्षअघि महिला सहकारीका सञ्चालकहरुलाई क्षमता विकास तथा उद्घोषण कलासम्बन्धी तालीम समेत दिइसकेको गाउँपालिका उपाध्यक्ष सीता आचार्यले वताउनुभयो । तालीममा सहभागी नवज्योती महिला सहकारी संस्था कुम्मायक–४ की अध्यक्ष कमलादेवी चम्लागाईले ग्रामीण क्षेत्रका महिलाहरुले एड्भान्स कम्प्युटर तालीम लिन पाउनु खुशीको कुरा भएको वताउनुभयो ।

उहाँले महिलाहरु मात्रै आवद्ध भई सञ्चालित सहकारीहरुको संस्थागत विकास तथा ती सहकारीमा आवद्ध महिलाहरुको क्षमता विकासमा गाउँपालिकाले गरेको सहयोगबाट राम्रो परिणाम निकाल्न आफूहरु प्रयत्नशील रहने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्