पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात (तस्वीरहरु सहित)



पाँचथर, ११ पुस

भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको छ ।

केही दिनअघि हलुका वर्षा भएपछि शुक्रवार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भएपनि यस वर्ष पुस महिनाको सुरुआतमै हिमपात भएको हो ।

पाँचथरमा पर्ने तिम्बु पोखरी, पहाडेमेगू, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफूले, फालोट, तीनसीमाना, चारराते लगायत उच्च पहाडी क्षेत्रहरु हिँउले ढाकिएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरु विन्दू चिवाभञ्ज्याङ क्षेत्र हिँउले ढाकिनुका साथै करीब दुई किलोमिटर तलसम्म सडकमा हिँउ जमेको छ ।

याङवरक–२ का सन्तप्रसाद बेघाका अनुसार दुई वर्षअघि मङ्सिर महिनाको अन्त्यमा समेत हिँउ परेको थियो । यसपालि सामान्य वर्षापछि हिँउ पर्न थालेको बेघाले वताउनुभयो । “हिउँ धेरै दिन चाहिँ रहँदैन् । तर यसपालि चाँडै हिमपात सुरु भयो”, बेघाले भन्नुभयो, “हिमपातपछि चिसो अत्यधिक बढेको छ ।”

हिमपात भएका क्षेत्रहरुमा चौंरी तथा भेडा गोठहरु छन् । तर चिसो बढ्ने भएपछि गत कात्तिकबाटै गोठहरु गाउँ वस्तीको नजिक सारिएका छन् । “गाउँको छेउमा सारिएपनि चिसोको प्रभाव पर्ने नै भयो”, बेघाले भन्नुभयो ।

हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ । पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीनसीमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) राखिएका छन् ।

बीओपीहरु हिँउले ढाक्दा सुरक्षाकर्मीहरुको दैनिकी कष्टकर बनेको हो । नेपालसँग सीमा जोडिएको भारतको सिक्किम क्षेत्रमा समेत हिमपात भएको छ । पाँचथरमा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू–भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनिजस्तो हिमपात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्