
फिदिम । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित हुनुभएको छ ।
प्रतिद्वन्द्वी सुनसरीका मुक्सामहाङ मेन्याङ्बोलाई भारी मतान्तरले पराजित गर्दै नेम्वाङ प्रदेश कमिटीको अध्यक्ष विजयी हुनुभएको हो । नेम्वाङले १६९ मत प्राप्त गर्दा मेन्याङ्बोले ६४ मत मात्रै प्राप्त गर्नुभयो । २५९ जनाको प्रदेश कमिटीले पदाधिकारी चयनका लागि मतदान गरेको थियो । तर मतदानमा २४० जनाले मात्रै भाग लिएका थिए । जसमध्ये पनि अध्यक्ष पदमा ७ मत बदर भएको थियो ।
वि.सं. २०५७ मा शसस्त्र युद्धमा सामेल फिदिम नगरपालिका–१३ लुङरुपाका नेम्वाङ २०६२ सालमा माओवादीको पाँचथर जिल्ला इन्चार्ज बन्नुभएको थियो । युद्धकै समयमा नेम्वाङले तेह्रथुम र धनकुटा जिल्लाको संयुक्त जिल्ला इन्चार्ज तथा धनकुटा जिल्लाको इन्चार्ज समेत हुनुभएको थियो ।
वि.सं. २०५८ मा सिन्धुलीको भिमान भीडन्तमा गोली लागेर गम्भीर घाइते नेम्वाङ भारतमा लामो समयको उपचारपछि पुनः माओवादी आन्दोलनमा सामेल हुनुभएको थियो । गोली लागि सख्त घाइते भएकै कारण नेम्वाङको शरीरमा अझैसम्म गोली र छर्रा छन् । नेम्वाङ वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माको स्वकीय सचिव समेत हुनुहुन्छ ।
यस्तै प्रदेश कमिटीको तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११ मत, देवान चाम्लिङ १२० मत र शिवकुमार डाँगी ११३ प्राप्त गरी विजयी हुनुभएको छ । सचिव पदमा गणेश उप्रेती (सुशील) १४८ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत प्राप्त गर्नुभयो ।
यस्तै ३ जना सहसचिवमा कुमारी राई ११४ मत, सागर किराँती ७३ मत र ऋषिराम ढुंगाना ९५ मत प्राप्त गरी विजयी हुनुभएको छ । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गर्नुभयो ।
९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उमेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।