ओमिक्रोन त्रास बढिरहँदा तयारी तीव्र पार्न विज्ञको सुझाव



बीबीसी । धेरै देशमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिने क्रम तीव्र भएको अवस्थामा नेपालका भाइरसविज्ञहरूले तयारीमा तीव्रता दिनुपर्ने बताएका छन्।

खोप लगाएकै वा यसअघि कोभिड सङ्क्रमित भइसकेकामा ओमिक्रोनले देखाउने लक्षण र असरहरू अझ प्रस्ट नभइसकेको अवस्थामा नयाँ भेरिअन्ट छुट्ट्याउने काम धेरै गर्नुपर्ने उनीहरू बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, हरेक प्रदेशमा, विदेशबाट आउनेहरूलाई विमानस्थलमा, भारतसँग जोडिएका नाकाहरूमा जीनोम सीक्वन्सिङ सेवा बढाएर छिटो नतिजा आउने अवस्था बनाउनुपर्छ। जसले सङ्क्रमण धेरै नफैलिसक्दै व्यवस्थापन गर्न सकिन्छ।”

नेपालका हालसम्म तीन जनामा ओमिक्रोन भेरिअन्ट पुष्टि भइसकेको छ। डिसेम्बर पहिलो साता नेपालमा दुई जनामा ओमिक्रोन भेटिएपछि तेस्रो साता गरिएको अर्को जीनोम सीक्वन्सिङमा थप एक जनामा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको छ। यसबीच सरकारले विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिएमा पुसको अन्तिम सातादेखि थप एक मात्रा खोप समेत दिने स्वास्थ्यमन्त्रीले बुधवार बताएका छन्।

नयाँ भेरिअन्टको त्रास बढिरहेका बेला जीनोम सीक्वन्सिङका लागि नमुनाहरु ुविदेशबाट आएकामा पाइएका सबै पोजिटिभ घटना र नेपालमा पोजिटिभ भएकामध्ये (एस–जीन नेगिटिभ भएका) शङ्कास्पदमध्येबाट हुनेु अधिकारीहरूको भनाइ छ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्र भन्छिन्, “निरन्तर प्रक्रियाको रूपमा गर्नुपर्ने काम भनेको जुनसुकै भेरिअन्ट आओस् खोप लगाउने जनसङ्ख्या बढाउने र स्वास्थ्य मापदण्ड पालना गर्नु नै हो।” बुधवार ११,३०९ नमुना परीक्षण हुँदा २३६ जनामा कोभिड पुष्टि भएको थियो।

मन्त्रालयले अहिले नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिभुवन विश्वविद्यालयको जैविक प्रयोगशाला र देशबाहिर समेत जीन समीक्षा गर्ने गरेको जनाएको छ। धेरै उत्परिवर्तित र निकै तीव्र गतिमा फैलने दर भए पनि अघिल्लो डेल्टा भेरिअन्टजस्तो घातक नभएको देखिएको केही देशका सुरुवाती विवरणहरूमा देखिएका छन्। तर वैज्ञानिकहरूले त्यस्तो निष्कर्षमा पुग्नका लागि पर्याप्त तथ्याङ्क उपलब्ध भइनसकेको बताउने गरेका छन्।

हाल जापानको नागासाकी विश्वविद्यालयमा प्राध्यापन गर्ने डा। पाण्डे समेत त्यसमा सहमत छन्। उनी भन्छन्, “सर्न सक्ने क्षमता उच्च भएको हुँदा त्यसमा केही त रोगप्रतिरोधी क्षमता कम भएका पनि पर्न सक्छन्। उनीहरूलाई गम्भीर रोग लाग्न सक्छ र अस्पतालहरूमा चाप पर्न सक्छ।”

अमेरिकाको मिनसोटास्थित एक चिकित्सा अध्ययन संस्थान मेयो क्लिनिकमा कार्यरत भाइरसविद् डा. सुदीप खड्का समेत अहिलेसम्मको तथ्याङ्कले ओमिक्रोन डेल्टाभन्दा खतरनाक छ वा छैन भन्ने कुनै निष्कर्षमा पुग्न हतारो भइसकेको ठान्छन्।

“एउटा भेरिअन्ट देखिन थालिसकेपछि त्यो फैलिएर कस्तो रूप लिन्छ भन्ने भन्ने जान्छ केही समय पर्खनैपर्छ। अहिलेसम्म देखिएको सङ्केत चाहिँ पुरानो रोगप्रतिरोधी तत्त्वले केही कम काम गर्ने हो कि भन्ने छ” प्रतिरोध क्षमतासम्बन्धी अनुसन्धानदाता खड्काले भने।

मानिसहरूमा कोरोनाभाइरस दीर्घकालसम्म रहिरहने बताइराखिएका बेला अब त्यसबाट बच्ने तयारी समेत निरन्तर भइरहनुपर्ने विज्ञहरूको मत पाइन्छ। अहिले खोपलाई त्यससँग जुझ्ने एउटा मुख्य माध्यमको रूपमा हेरिएको पाइन्छ। भाइरोलोजिस्ट डा. खड्का थप्छन्, “अहिले गर्नुपर्ने भनेको बुस्टर मात्राले राम्ररी काम गर्ने देखिएका बेला जोखिममा रहेका समूहलाई छिटो त्यस्तो प्रबन्ध गर्ने र पूर्ण मात्रा खोप लगाउने क्रममा तीव्रता दिनुपर्ने नै हो।”

नेपालमा बुधवारसम्म कुल जनसङ्ख्याको ३२.२ प्रतिशतले र १८ वर्षभन्दा माथिको जनसङ्ख्यामा ४९.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको सरकारी विवरण छ। पर्याप्त मात्रामा खोप उपलब्ध भइसक्दा समेत लगाउन खोज्ने मानिसहरू सोहीअनुरूप नआएपछि अब पालिकाहरूसँग सल्लाह गरेर खोप कार्यक्रमलाई तीव्रता दिने योजना बनिरहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. मिश्र बताउँछिन्।

प्रतिक्रिया दिनुहोस्