फिदिम नगरपालिकाको १०औं नगर सभा सुरु



फिदिम, ५ पुस ।

फिदिम नगरपालिकाको १०औं नगर सभा आइतवारबाट सुरु भएको छ ।

चालु आर्थिक वर्ष २०७८/०७९ का लागि नीति, कार्यक्रम तथा बजेटको संशोधन तथा परिमार्जन गर्दै कार्यान्वयनमा लैजाने उद्देश्यसहित हिउँदे सभा सुरु भएको हो । आइतवार फिदिममा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले नगर सभाको उद्घाटन गर्नुभयो ।

नगरसभाको उद्घाटन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख उर्मिला प्रधान (श्रेष्ठ)ले गत आर्थिक वर्ष २०७७/०७८ मा फिदिम नगरपालिकाले हाँसिल गरेका उपलब्धिहरुको विवरण, जनप्रतिनिधि निर्वाचित भएपछि फिदिम नगरपालिकाले प्राप्त गरेका मुख्य सफलताहरुको विवरण तथा चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका योजनाहरुको प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो ।

उपप्रमुख प्रधानले प्रस्तुत गर्नुभएको प्रगति विवरणअनुसार गत आ.व.मा कोभिड–१९ सङ्क्रमणको महामारीका बावजुत पनि फिदिम नगरपालिकाले करीब ७७ प्रतिशत वित्तीय प्रगति र ९४ प्रतिशत भौतिक प्रगति हाँसिल गर्न सफल भएको उल्लेख छ । यद्यपि चालु आ.व.का पाँच महिनामा भने कुनै पनि क्षेत्रमा दोहोरो अङ्कको वित्तीय तथा भौतिक प्रगति हासिँल हुन नसकेको पाइएको छ ।

चालु आ.व.मा संशोधित अनुमान र ब्यय गरी नवौं नगर सभाबाट रु. ९१ करोड ५९ लाख ९४ हजार ६२० रकमको बजेट पारित भएको थियो । तर ठेक्कापट्टाबाट घटाघट भएका कारण गत वर्षको मौज्दात रकम अनुमानभन्दा वृद्धि भएपछि चालु आ.व.को कूल बजेट रु. ९५ करोड २६ लाख ७६५ कायम भएको उपप्रमुख प्रधानद्वारा सार्वजनिक समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

नगरसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले तीन तहको संघीयताको सफल कार्यान्वयन स्थानीय तहको सफलतामा निर्भर रहेको वताउनुभयो । उहाँले जनताका अपेक्षा र नगरपालिकाको समृद्धिलाई संयोजन गरी अगाडि बढ्न सुझाव समेत दिनुभयो ।

स्थानीय तहका जनप्रतिनिधिहरुसँग अत्यन्तै न्यून समयमात्रै बाँकी रहेकाले विगतमा भएका कमजोरीहरु सच्याई निकट भविश्यमा हुने स्थानीय तह निर्वाचनलाई जनताको आकर्षणको विषय बनाउन समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक संघ संस्थाका प्रतिनिधिहरु लगायतले समेत धारणा राख्दै नगरपालिकालाई नजिकको सरकारको रुपमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) पाँचथरका उपसचिव एवं जिल्ला समन्वय समितिका सदस्य नरबहादुर गुरुङ, नेपाली काँग्रेस पाँचथरका सभापति रुपनारायण जबेगू, जनता समाजवादी पार्टी पाँचथरका सचिव कमलराज नेम्वाङ, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटा, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखाका सचिव राजेन्द्रप्रसाद काफ्ले, फिदिम नगर प्रमुखका सल्लाहकार सुवराज थापा लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

वक्ताहरुले सबै पक्ष र क्षेत्रलाई समेटेर विकासलाई अगाडि बढाउन, पूर्वाधार निर्माणलाई ब्यवस्थित र आवश्यकताका आधारमा मात्रै अगाडि बढाउन, स्थानीयवासीको आयआर्जन अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न नगरपालिकालाई सुझाव दिए । नगर प्रमुख ओनाहाङ नेम्वाङले सबैका सुझावका आधारमा नगरपालिका अगाडि बढिरहेको वताउनुभयो ।

कार्यक्रममा फिदिम नगरपालिकाले रु. १० हजार राशीको नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मी गौतमलाई पुरस्कृत गरेको छ । यस्तै १० हजार राशीकै उत्कृष्ट कर्मचारी पुरस्कारबाट फिदिम नगरपालिका–८ की वडा सचिव कल्पना अधिकारी, चोकमागू स्वास्थ्य चौकी फिदिम–५ का अहेब दिनेश मण्डल र नगरपालिकाको स्टोर शाखाका प्रमुख हाङनारायण हाङसरुम्बा पुरस्कृत हुनुभएको छ ।

यस्तै नगरपालिकाले सरुवा भई जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीलाई एक महिनाको तलब बराबरको पुरस्कार सहित सम्मान गरेको छ । यस्तै नगरपालिकाले उत्कृष्ट करदाताहरुलाई समेत सम्मान गरेको छ । सम्मानित हुने करदाताहरुमा संस्थागततर्फ माछापुच्छे« बैङ्क लिमिटेड फिदिम शाखा र ब्यक्तिगततर्फ फिदिम–४ का बबिन्द्रविक्रम बुढाथोकी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्