जनआकाङ्क्षा पूरा गर्नेतर्फ लाग्न जनप्रतिनिधिलाई पूर्वमन्त्री नेम्वाङको आग्रह



फिदिम, ५ पुस ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले जनआकाङ्क्षा पूरा गर्नेतर्फ लाग्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।

आइतवार फिदिममा आयोजित फिदिम नगरपालिकाको १०औं नगरसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री नेम्वाङले जनताले आवश्यक ठानेका विषयमा केन्द्रीत भई काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको हो । जनताको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय तहले प्रभावकारी रुपमा काम गर्न सकेमात्रै संघीय संरचनाले आम नागरिकको हित गर्नसक्ने र संघीयतालाई थप मजबुद बनाउन मद्दत मिल्ने वताउनुभयो ।

“सुकेपोखरीका मानिसहरु पर्यटक भित्र्याउन पर्यटन पूर्वाधार पर्खिरहनुभएको छ । लुम्फाबुङका मानिसहरु नदीको पानी कहिले घरसम्म आउला भनेर कुरिरहनुभएको छ”, नेम्वाङले भन्नुभयो, “हामी जनप्रतिनिधिहरुको काम यीनै जनआकाङ्क्षाहरुको सम्बोधन गर्ने हो ।” फिदिम नगरपालिकामा विद्युतिकरण, भौतिक संरचना निर्माण, सडक कालोपत्रे तथा विस्तार, सडक सञ्जालको विकास, सडक बत्तीको ब्यवस्था, खेलमैदान तथा विद्यालय संरचना निर्माण, सूचना प्रविधिको विस्तार लगायत क्षेत्रमा महत्वपूर्ण योजनाहरु आफू मन्त्री भएका बखत सुरुआत भएको स्मरण गर्दै पूर्वमन्त्री नेम्वाङले विकासको रफ्तार रोकिन नहुने वताउनुभयो ।

उहाँले फिदिम नगरपालिकाले अगाडि सारेको ‘समृद्ध शहर, फिदिम नगर’को अवधारणालाई मूर्त रुप दिनु नै सबै फिदिमवासीको ध्येय रहेको वताउनुभयो । बजेट प्राप्त हुने र विकासले गति लिने कुरा कोही ब्यक्तिमा निर्भर हुने नभई प्रणालीगत विषय रहेको वताउँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था संविधान र कानूनबाट स्थापित भई संरचनागत रुपमा संस्थागत भएकाले यसको विकल्प हुन नसक्ने वताउनुभयो । नेम्वाङले स्थानीय तहका जनप्रतिनिधिहरुसँग अत्यन्तै न्यून समयमात्रै बाँकी रहेकाले विगतमा भएका कमजोरीहरु सच्याई निकट भविश्यमा हुने स्थानीय तह निर्वाचनलाई जनताको आकर्षणको विषय बनाउन समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्