विविध कार्यक्रमका साथ उधौली/चासोक तङ्नाम मनाइदै



लेखनाथ शिकारु

आज किराँत समुदायले उधौली/चासोक तङ्नाम पर्व मनाइरहेका छन् । मंसीर पूर्णिमाको अवसरमा यो पर्व धुमधामले मनाइदैछ ।

यस चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । यस उधौली चाडलाई लिम्बुहरूले चासोक तङ्नाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरूले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन् ।

उधौली साकेला पर्वलाई न्वागी पूजा साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि नामलेसमेत चिनिन्छ । प्रकृतिपूजक किराँतहरुले मनाउने यो पर्व एउटा समयसूचक पनि हो । खेतीपाती एवं पशुपालन गर्ने किराँतका पूर्खाहरुले प्रकृतिसँग लय मिलाउँदै यो उत्सव मनाउँछन ।

चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ । बाली उब्जाइदिने प्रकृति–जल, जमिन, वायु, अग्नि सूर्य लाई विशेष पुजिन्छ ।

फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन् । खाँदा, रोगब्याध नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ । फेरि पनि धेरै अन्न फलाउनमा सहयोगको याचनासमेत गरिन्छ ।

उधौली पर्वलाई न्वागी पुजा पनि भनिन्छ । अन्नबाली पाकेको बेला आफ्ना देवीदेवता, पितृलाई अन्न तथा फलफूल चढाएर न्वागी पुजा गर्ने गरिन्छ । किराँतभित्र जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने आ–आफ्नो तरिकाहरू रहेका छन् ।

पूजाआजापछि धर्मगुरुको आदेशबाट साकेला नाच सुरु गरिन्छ । नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, जनावर, पशुपक्षी, चराचुरुङ्गीको नक्कल, खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।

यस पर्वको बेलामा बालबालिका, युवा, वृद्ध सबै आपसमा गोलो घेरा लगाएर परम्परागत रूपमा शिली नाच नाच्ने गर्छन् । सो शिलिनाच नेपालका विभिन्न सहरमा खासगरी युवा वर्गमा बढी प्रचलित र लोकप्रीय छ । साथै कपासबाट धागो कातेको, कपडा बुनेको, सिङ्गारपटार गरेको जस्ता कार्यलाई पनि अभिनयको माध्यमबाट नाचमा उतारिन्छ ।

लिम्बूहरुको श्रुतिपरम्परामा आधारित मुन्धुमका अनुसार, आदिम लिम्बू पुर्खा सावायेत्हाङहरूले काँचो कन्दमूल खानुपर्ने बाध्यताबाट उन्मुक्ति पाउन तपस्या गरे । बदलामा तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित कोदो, फापर, कागुनो लगायत बीज दिए । बीज सावायेत्हाङका चेली सिबेरायाक्थुङमाले संरक्षण गरेर कृषियुगको प्रारम्भ गरिन् । त्यसपछि ‘तागरेनिङ्वाभुमाङ’ लाई सधन्यवाद दिंदै आफूले नखाई चोखो अन्न अर्पण गर्न थालिएको मान्यता छ ।

किरात समुदायमा मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ। मंसिरमा अन्नबाली घर भित्र्याएपछि प्रकृति र पितृलाई स्मरण गर्ने परम्परा अनुसार उधौली मनाउने गरिएको बताइन्छ ।

उधौलीमा खोतीपाती राम्रो भएकोमा प्रकृति, भूमि, किरा फट्याङ्ग्रा, चराचुरुङ्गीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रुपमा मनाउने गरीएको लिम्बु समुदायका जानकार हरीचन्द्र लावती बताउँछन् । यस चाडलाई विशेषत मेलमिलापको चाडको रूपमा पनि मनाउने गरिन्छ । वर्षभरिमा कसैसंग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो व्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बोलचाल गर्ने चलन रहेको छ ।

साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र सम्मान गर्नुपर्दछ । यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ ।

यस्तै आज धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमको भनाइ छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीमा आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हिः पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्