पिकनिक गएर फर्केको बसले ठक्कर दिँदा झापामा दुई जनाको मृत्यु



झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा पिकनिक गएर गन्तब्यतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

इलामको कन्यामबाट सुनसरीको इटहरीतर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बसले ठक्कर दिँदा बुधबार राति ८ बजे इलाम रोङ गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय सन्तोष राई र सोही ठाउँका ३५ वर्षीय चक्रबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरु पश्चिमबाट पूर्वतर्फ मे ७ प २८४६ नम्बरको मोटरसाइकलमा सवार थिए। तीव्र गतिको बसले आफ्नै साइडमा रहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन्।

प्रहरीले बस र चालक इलाम चुलाचुली गाउँपालिका वडा नम्बर २ बस्ने सरोज ढकाललाई नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

धनगढी काकडभिट्टा रूटमा चल्ने सो बस पिकनिकका लागि यात्रु लिएर इलामको कन्याम गएको ट्राफिक प्रहरी पोष्टमा सुरुङ्गाका प्रमुख प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले बताए। गन्तव्यतर्फ फर्कने क्रममा दुर्गापुरमा दुर्घटना भएको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्