जहाँ सामुदायिक र निजी विद्यालय एकापसमा गाभिए र अङ्ग्रेजी माध्यममा पढाउन थाले



पाँचथर, २३ मङ्सिर

सामुदायिक र निजी विद्यालय एकापसमा गाभिए, दुवै विद्यालयका शिक्षक र विद्यार्थी एर्क विद्यालयमा पढाउन र पढ्न गए भन्दा विश्वास नलाग्न सक्छ । तर पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नजिक–नजिकै रहेका सामुदायिक र निजी विद्यालय एकापसमा गाभिएका छन् । दुई विद्यालय मर्ज भएपछि शैक्षिक गुणस्तरमा सुधार आउनुका साथै शिक्षक, विद्यार्थी र अभिभावकहरुमा उत्साह थपिएको छ ।

मिक्लाजुङ गाउँपालिका–६ कन्याटारमा विगतमा दुई वटा विद्यालय थिए, ज्ञानज्योती आधारभूत विद्यालय र बालज्योती इङ्ग्लिस बोर्डिङ स्कूल । करीब १२० घर परिवारको बसोबास रहेको यो सानो गाउँमा एक सामुदायिक र एक निजी विद्यालय सञ्चालनमा हुँदा दुवैतर्फ विद्यार्थी सङ्ख्या निकै न्यून भयो । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको प्रश्न उठ्थ्यो, निजीमा विद्यार्थी सङ्ख्या र नियमित सञ्चालनको । अप्ठ्यारोमा परेपछि अन्ततः दुवै विद्यालय एकै निश्कर्षमा पुगे – निजी विद्यालयलाई सरकारीमा गाभ्ने ।

“नजिकै रहेको बोर्डिङमा पनि कम विद्यार्थी, हाम्रोमा पनि कम नै । दुवै संस्था मास्न नहुने जस्तो लागेको थियो”, ज्ञानज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक उमेशकुमार राईले भन्नुभयो, “तर बाध्यात्मक अवस्था आएपछि सरकारी विद्यालयमै केही गरेर जाऔँ भनेर सल्लाह ग¥यौँ ।” नभन्दै निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालय ज्ञानज्योतीमा अध्ययन गर्न थाले । निजी विद्यालयका एक शिक्षक पनि निजी स्रोतबाट तलब खाने गरी सामुदायिक विद्यालयको शिक्षक बने ।

तर ज्ञानज्योती आधारभूत विद्यालयका शिक्षक अब विद्यालयको नियमित सञ्चालनमा मात्रै सिमित भएनन् । निजी विद्यालय बन्द भएपनि अभिभावकहरुमा रहेको अङ्ग्रेजी माध्यमप्रतिको मोह उनीहरुले बुझेका थिए । यसपछि विद्यालयसँग सम्वद्ध सबैजना अङ्ग्रेजी माध्यमबाट पठन–पाठनको ब्यवस्था गर्नतर्फ लागे । “सुरुमा देश विदेशमा रहेका अभिभावकहरु सल्लाह ग¥यौँ । अङ्ग्रेजी माध्यमबाट अगाडि जानुपर्छ भन्ने सबैको सल्लाह प्राप्त भयो”, प्रधानाध्यापक राईले सम्झनुभयो, “अङ्ग्रेजी माध्यमबाट पठन–पाठनको प्रवन्ध गर्न अक्षयकोष बनाउने निश्कर्षमा पुग्यौँ ।”

शिक्षकहरु, विद्यालय ब्यवस्थापन समिति र अभिभावकहरु प्रत्येक अभिभावकका घरमा पुगे र अङ्ग्रेजी माध्यममा पठन–पाठनका लागि अक्षयकोष स्थापना गर्ने विषय जानकारी गराउन थाले । सबै अभिभावकहरुले अक्षयकोषमा सक्दो रकम जम्मा गरे । विशेषतः दक्षिण कोरिया र बेलायत पुगेका विद्यालय सेवा क्षेत्रका मानिसहरुले अक्षयकोषमा रकम जम्मा गर्न थाले । “अहिले अक्षयकोषमा रु. १८ लाख रकम पुगेको छ”, प्रधानाध्यापक राईले भन्नुभयो, “अक्षयकोषको सुरुआत मात्रै गरेका छौँ । ब्यवस्थित बनाउन बाँकी नै छ ।” विद्यालयले अक्षयकोषको रकमको ब्याजले अहिले तीन जना शिक्षकलाई निजी स्रोतमा राखी तलब खुवाइरहेको छ । जसकारण यस विद्यालयमा अहिले कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पठन–पाठन सम्भव भएको छ ।

विद्यालयका शिक्षक जितकुमार थापा अभिभावकहरुमा रहेको अङ्ग्रेजीप्रतिको मोहलाई बुझेर आफूहरु अगाडि बढेको वताउनुहुन्छ । “सबै अभिभावक अङ्ग्रेजीप्रति लालायीत रहेकाले अङ्ग्रेजी माध्यममा पढाउन सकियो भने अवश्य सुधार आउला भन्ने अठोटले काम थालेका थियौँ”, थापाले भन्नुभयो । ७३ जना विद्यार्थी भर्ना भएको यो विद्यालयमा दैनिक ६५ जनाभन्दा बढी विद्यार्थी हाँजिर हुने गरेका छन् । शिक्षक, पूर्वप्राथमिक तहका सहयोगी कार्यकर्ता र विद्यालय सहयोगी गरी अहिले विद्यालयमा नौ जना कार्यरत छन् । विद्यालयले कक्षा ८ सम्म नै अङ्ग्रेजी माध्यमबाट पठन–पाठन गराउने तयारीस्वरुप कामहरु अगाडि बढाइरहेको प्रधानाध्यापक राईको भनाई छ ।

तर वेमौसमी वर्षापछि पहिरो झर्दा यो विद्यालयको एउटा दुई कोठे भवन क्षतिग्रस्त बनेको छ । पर्खाल ढलेको छ भने छानो भुईंमा झरेको छ । विगतमा उक्त क्षतिग्रस्त भवनमा सञ्चालन हुने कक्षाहरुलाई अहिले अन्य कक्षाकोठालाई वीचमा बारेर पठन–पाठन हुँदै आएको छ । काठ र टिनले कक्षा छुट्ट्याएर पढाउँदा एकातिरको अर्कोतिर सुनिने हुँनाले पठन–पाठन प्रभावकारी हुन नसकेको शिक्षकहरुको दुखेसो छ । “हामीलाई ब्यवस्थित भवनको आवश्यकता खड्किएको छ । सरकारी तथा दातृ निकायबाट चाँडो सुनुवाई भए हुन्थ्यो”, शिक्षक थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्