अपाङ्गता भएपनि पेशा ब्यवसायमा आत्मनिर्भर भएकाहरु सम्मानित



पाँचथर, २३ मङ्सिर

शारीरिक अपाङ्गता भएपनि पेशा ब्यवसाय सञ्चालनमार्फत जिविकोपार्जन गरी आत्मनिर्भर बनेका ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति पाँचथर सहित विभिन्न निकायहरुले ३०औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (डिसेम्बर–३) तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर बुधवार फिदिममा अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिभाको पहिचान, सम्मान तथा प्रवद्र्धन कार्यक्रमको आयोजना गरी सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा मुढा बनाउने दृष्टिविहीन फिदिम–५ का पृथ्वीराज तुम्बापो, शारीरिक रुपमा अशक्त फिदिम–३ का ललितबहादुर मुखिया र श्रवण शक्ति नभएका फिदिम–८ का टंकप्रसाद नेम्वाङ, शारीरिक अपाङ्गता भएर पनि बाँसका सामग्री उत्पादन गर्ने फिदिम–४ का चुडामणि बाँस्कोटा, वाद्यवादनका सामग्री बनाउने फाल्गुनन्द–५ का दीपेन्द्र चेम्जोङ, क्रिष्टलका सामग्री बनाउने फिदिम–११ की रञ्जु तामाङ, श्रवण शक्ति नभएपनि सिलाई कटाई गर्ने फिदिम–२ की इन्दिरा तुम्बापो र कुचो बनाउने फिदिम–१ की चम्पामाया चम्लागाईँलाई सम्मान गरिएको हो । यस्तै शारीरिक अपाङ्गता भएपनि बेसार उत्पादन गर्ने कुम्मायक–१ का गणेश आचार्य, पशुपालन गर्ने कुम्मायककै सुशिला आङदेम्बे, किराना पसल गर्ने फिदिम–३ की जुनमाया आङदेम्बे, किराना पसल गर्ने फिदिमकै दलबहादुर राई र फलामको काम गर्ने फिदिम–२ का केशरमान विश्वकर्मा छन् ।

यस्तै अपाङ्गता भएका ब्यक्तिहरुको स्याहार सुसार गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने फिदिमका अनिस्मा शंकर, बालकुमारी थापा, दिलमाया श्रेष्ठ र आज्ञा तुम्बापोलाई समेत उक्त अवसरमा सम्मान गरिएको थियो । यस्तै दृष्टिविहीन भएपनि स्नातक तह उत्तिर्ण गरेका जिल्लाको हिलिहाङका प्रदीप लिङदेन र स्थायी शिक्षक बनेका फिदिम–१४ का पूर्णकुमार लिम्बू सम्मानित भएका छन् । यसैगरी शारीरिक रुपमा अशक्त बच्चा जन्माएको आरोपमा परिवारबाट हेंलामा परेकी फिदिम–४ की द्रौपदा गौतमलाई समेत बुधवार आयोजित कार्यक्रममा सम्मान गरिएको थियो ।

जिल्ला समन्वय समिति सहित सामाजिक विकास मन्त्रालय प्रदेश नं. १, फिदिम नगरपालिका, करुणा फाउण्डेसन र अपाङ्ग सेवा संघ पाँचथरले कार्यक्रमको आयोजना गरी सम्मान गरेका हुन् । यस क्रममा आफैँ पेशा ब्यवसाय गरी आत्मनिर्भर बनेकाहरु तथा अपाङ्गता भएका आफन्तको स्याहार सुसार गरिरहेका परिवार प्रत्येकलाई न्यूनतम रु. पाँच हजार लागतमा आवश्यक पर्ने विभिन्न प्रकारका सामग्रीहरु समेत उपलब्ध गराइएको करुणा फाउण्डेसनका कार्यक्रम संयोजक केदार भण्डारीले जानकारी दिनुभयो । आर्थिक रुपले आत्मनिर्भर अपाङ्गता भएका ब्यक्तिहरु तथा परिवारका सदस्यहरुलाई सम्मानपत्र, खादा र नगदले सम्मान गरिएको थियो ।

कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुले पेशा, ब्यवसाय सञ्चालनमा सरकारी निकायले सहयोग नगरेको गुनसो गरे । उनीहरुले औषधि, उपचारमा समस्या हुने गरेको, सार्वजनिक यातायात, सरकारी तथा सामुदायिक स्थल र भवनहरुमा पुग्न अपाङ्गमैत्री संरचना तथा उपकरणहरु तयार नभएको, उत्पादित सामग्रीको विक्रीमा सहयोग नभएको जस्ता गुनासाहरु समेत गरेका थिए । “जिल्ला अस्पतालमा ह्विल चियर नहुँदा मैले उपचार गराउन पाएको छैन्”, जिल्लाको फाल्गुनन्द–५ का शारीरिक रुपमा अशक्त दीपेन्द्र चेम्जोङले भन्नुभयो, “सरकारी भवन समेत अपाङ्गमैत्री छैनन् ।” यस्तै अपाङ्गताका क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायमा दक्षता नहुँदा खरिद गरिएका सहयोगी उपकरण तथा सामग्रीहरु प्रयोगविहीन भएको भन्दै चेम्जोङले यस्तो अवस्थाको अन्त्य गर्न माग गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जिल्लामा करुणा फाउण्डेसनमार्फत सञ्चालनमा आएको अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमलाई प्रभावकारी बनाई समस्या भोगिरहेका सबै अपाङ्गहरुलाई सहयोग गर्ने योजना बनाइएको वताउनुभयो । “यस क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने निकायको अभाव हुँदा स्थानीय सरकारहरुले समेत प¥याप्त ध्यान नदिएको पाइयो”, सापकोटाले भन्नुभयो, “अपाङ्गता भएका ब्यक्तिहरुको सहज जीवनयापनमा सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता खड्किएको छ ।”

कार्यक्रममा फिदिम नगरपालिकाका उपप्रमुख उर्मिला प्रधान श्रेष्ठ, नेकपा (एमाले)का कार्यालय सचिव पृथ्वी लावती, नेपाली काँग्रेस पाँचथरका सचिव एवं पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल सहित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु, अपाङ्गताको क्षेत्रमा सक्रिय संघ संस्था, शैक्षिक संस्था लगायतका प्रतिनिधिहरु लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्