युवा पुस्तालाई संस्कृति संरक्षणमा लाग्न पूर्वमन्त्री नेम्वाङको आग्रह



फिदिम, २२ मङ्सिर

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले युवा पुस्तालाई संस्कृतिको संरक्षणमा जुट्न आग्रह गर्नुभएको छ ।

फिदिममा जारी केलाङ (च्याब्रुङ) प्रशिक्षण तालिममा बुधवार सहभागी हुँदै पूर्वमन्त्री नेम्वाङले लोक संस्कृति तथा परम्परालाई समयानुकूल रुपान्तरणसहित जगेर्ना र भावी पुस्तासम्म हस्तान्तरण गर्नु आवश्यक रहेको वताउनुभयो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा किराँत याक्थुङ चुम्लुङ पाँचथर शाखाको आयोजनामा जारी प्रदेशस्तरीय नेपाली मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रमअन्तर्गत सञ्चालित केलाङ (च्याब्रुङ) प्रशिक्षणमा सहभागी हुँदै पूर्वमन्त्री नेम्वाङले पहिलो पटक सरकारले लिम्बू समुदायको मौलिक संस्कृति तथा परम्पराको संरक्षणमा लगानी गरेको पाउँदा आफूलाई खुशी लागेको वताउनुभयो ।

सरकारी निकायबाट च्याब्रुङ प्रशिक्षणका लागि प्रशिक्षक उत्पादन गर्ने हेतुले सञ्चालित तालिमले च्याब्रुङ आधुनिक, सैद्धान्तिक र वैज्ञानिक हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो । “सरकार नै हाम्रो संस्कृति र परम्पराको जगेर्नामा लागिसके पछि युवा पुस्ताले यसको जिम्मेवारी लिई संस्थागत विकासमा अगाडि बढाउनु पर्छ”, नेम्वाङले भन्नुभयो, “च्याब्रुङको उत्पत्तिदेखि आधुनिकीकरणसम्मलाई यहि पुस्ताले जोड्ने छ भन्ने मलाई विश्वास लागेको छ ।”

विगतमा कहिल्यै च्याब्रुङ नबजाएका युवाहरुले तालिम लिनाले कला, संस्कृति तथा परम्पराको रक्षा र आधुनिकीकरणमा ठूलो मद्दत मिल्नसक्ने आफ्नो विश्वास रहेको उहाँको भनाई छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले थालेको अभियानले कला र संस्कृतिको सम्वद्र्धनमा फड्को मार्ने वताउँदै पूर्वमन्त्री नेम्वाङले प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुबाट आफू प्रशिक्षण लिन इच्छुक रहेको वताउनुभयो ।

फिदिम स्थित किराँत याक्थुङ चुम्लुङ पाँचथर शाखाको भवनमा गत मङ्सिर १५ गतेदेखि जारी च्याब्रुङ प्रशिक्षण मङ्सिर २५ गते सकिनेछ । उक्त प्रशिक्षणमा पाँचथर, तेह्रथुम र ताप्लेजुङका गरी २५ जना सहभागी रहेको चुम्लुङ पाँचथर शाखाका सचिव सुबास तुम्बापोले जानकारी दिनुभयो । सहभागीहरुमध्ये अधिकांश युवा युवती छन् । बुधवार आयोजित कार्यक्रममा तालिमका प्रशिक्षक एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक लोहोरुङ राई, प्रतिष्ठानका प्राज्ञसभा सदस्य भूमिका सुब्बा, प्रशिक्षक एवं कलाकार यासेली योङहाङ, कलाकार एवं प्रशिक्षक वुद्धराज इङ्वा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्