पत्रकार रमेश थापा सम्मानित



फिदिम, २० मङ्सिर

पाँचथरका पत्रकार रमेश थापा सम्मानित हुनुभएको छ । तेह्रथुमको मेन्छयायेम संचार सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभामा थापा सम्मानित हुनुभएको हो ।

आइतवार तेह्रथुमको म्याङलुङ नगरपालिका स्थीत उद्योग बाणिज्य संघको हलमा संस्थाले आयोजना गरेको बार्षिक साधारण सभामा संस्थाको दिगोपनाको लागि निरन्तर सहयोग गरेको भन्दै थापालाई सस्थाले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । साधारण सभाका प्रमुख अथिति प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई प्रशंसा पत्र र खादा ओढाएर सम्मान गर्नुभएको हो ।

त्यस्तै सम्मानित हुनेमा रेडियो मेन्छ्यायेमका समाचार सहायक कृष्ण तामाङ, प्राविधिक जानुका नेपाल र रेडियोको संग्रालयमा ऐतिहासिक सामग्री सहयोग गर्ने घनश्याम लिम्बू साथै प्रदेश प्रमुख पर्शुराम खापुङलाई संस्थाले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अथिति खापुङले देशलाई सही दिशातर्फ अघि बढाउन आम सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै सरकारले सञ्चार क्षेत्रको बिकासको लागि निरन्तर रुपमा सहयोग गर्ने बताउनुभयो ।

साधारण सभामार्फत संस्थाले आर्थिक वर्ष २०७७/०७८ को २३ लाख ६४ हजार २ सय ६८ रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो । संस्थाले एक घर एक सेयरको नीति लिए अनुसार २०७८ सालसम्ममा ७ सय ६ सेयर सदस्यको संख्या पुगेको संस्थाका कोषाध्यक्ष दिपक कट्टेलले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्