
पाँचथर, १७ मङ्सिर
आजबाट सुरु भएको मतदाता नामावली सङ्कलनको कार्य पाँचथरमा दुई चरणमा सञ्चालन हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार पाँचथरमा पहिलो चरणमा आजबाट मङ्सिर २६ गतेसम्म जिल्लाका हिलिहाङ, फाल्गुनन्द, मिक्लाजुङ र फालेलुङ गाउँपालिकामा मतदाता नामावली सङ्कलनको कार्य हुनेछ । दोश्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म याङवरक, कुम्मायक र तुम्बेवा गाउँपालिकामा मतदाता नामावली सङ्कलन हुनेछ ।
नामावली सङ्कलनको कार्य सम्बन्धित स्थानीय तहको केन्द्र वा अस्थायी केन्द्रबाट मात्रै सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार भट्टराईले जानकारी दिनुभयो । सदरमुकाम समेत रहेको फिदिम नगरपालिकाका लागि भने जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट नामावली सङ्कलनको कार्य हुने कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो । यस्तै जिल्ला बाहिरका मतदाताले आजदेखि जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली भराउन सक्नेछन् ।
मतदाता नामावली सङ्कलनका लागि स्थानीय तहको केन्द्रमा पुगेको टोलीले शनिवार तथा सार्वजनिक विदाका दिन समेत कार्यालय समयसम्म नामावली सङ्कलन गर्ने भएको छ । गाउँपालिकाको केन्द्रबाट टोलीले नामावली सङ्कलनको कार्य मात्रै गर्ने र त्रुटी सच्याउने, ठाउँ सारी गर्ने कार्य जिल्ला निर्वाचन कार्यालयबाट मात्रै हुने भट्टराईले जानकारी दिनुभयो । नामावली दर्ता स्थलमा दर्ता स्थल ब्यवस्थापक एक जना, दर्ता कर्मचारी एक जना, सहायक दर्ता कर्मचारी एक जना र दर्ता स्थल सहयोगी एक जना गरी चार जना कर्मचारी खटिएका छन् ।
पाँचथरमा २०७७ चैत ५ गते प्रकाशित अन्तिम मतदाता नामावलीअनुसार ६३ हजार ३१८ जना महिला र ६८ हजार ६६३ जना पुरुष गरी १ लाख ३१ हजार ९८१ जना मतदाता रहेका छन् । २०७८ कात्तिक मसान्तसम्म नियमित रुपमा भएको नामावली सङ्कलन कार्यबाट मतदाताको संख्या १ लाख ३५ हजार ३१९ पुगेको छ । स्थानीय तहका केन्द्रसम्म पुगेर गरिने नामावली सङ्कलनबाट करीब ३००० मतदाता थपिने निर्वाचन कार्यालय पाँचथरको अनुमान छ । एक संघीय निर्वाचन क्षेत्र, दुई प्रदेश निर्वाचन क्षेत्र, आठ वटा स्थानीय तह र ६० वटा वडा रहेको पाँचथरमा गत निर्वाचनमा १०१ वटा मतदान स्थल र १७१ मतदान केन्द्र रहेका थिए ।
स्थानीय तहको केन्द्रबाट मात्रै नामावली सङ्कलनको कार्य हुँदा सबै मतदाताका लागि ती स्थानहरु पायक नपर्ने भन्दै सरोकारवालाहरुले भने चिन्ता ब्यक्त गरेका छन् । जिल्ला निर्वाचन कार्यालय पाँचथरले हालै फिदिममा आयोजना गरेको अन्तरक्रियामा सहभागी जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक संघ संस्थाका प्रतिनिधिहरु लगायतले स्थानीय तहको केन्द्रसम्म पुग्नै कठिन हुने हुनाले एक स्थानीय तहमा एक भन्दा बढी स्थानबाट मतदाता नामावली सङ्कलन हुनुपर्नेमा जोड दिए । जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकाभन्दा बाहेक छ वटा स्थानीय तहका विभिन्न वडाका मतदाताहरुलाई स्थानीय तहको केन्द्र पुग्न कठिन हुँदा मतदानका लागि योग्यता पुगेका ब्यक्तिहरु समेत मतदाता नामावलीमा नाम दर्ता गराउनबाट छुट्नसक्ने उनीहरुको चिन्ता थियो ।