जोरपोखरीमा बालाचतुर्दशीको रौनक



पाँचथर, १७ मङ्सिर

बालाचतुर्दशीका अवसरमा आज पाँचथरको हिलिहाङ गाउँपालिका स्थित जोरपोखरीमा शतबीज छर्नेको घुँइचो लागेको छ ।

जोरपोखरीमा शतबीज छर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ पाँचथरका विभिन्न स्थानका श्रद्धालुहरु आज विहानैबाट जोरपोखरी पुगेको थिए । उनीहरु यहाँ रहेका दुई वटा पोखरीमा शतबीज छर्नुका साथै जोरपोखरी स्थित मन्दिर र माङहिममा पाठ पूजा गरेका थिए । हिलिहाङ गाउँपालिका स्थित जोरपोखरी करीब वि.सं. १८०० तिर अन्य स्थानमा सरेर आएको धार्मिक विश्वास रहेको छ ।

भगवानको बास हुने स्थानमा मात्रै जोरपोखरी रहने हुनाले यहाँ बालाचतुर्दशीमा शतबीज छर्दा चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको स्थानीय जानकार चिदानन्द खतिवडाको भनाई छ । यहाँ शतबीज छर्न आउनेहरुले दुवै पोखरीको वरिपरि परिक्रमा गर्दै शतबीज छर्नुका साथै यहाँ स्थित मन्दिरमा पूजा अर्चना गर्ने गर्दछन् । हरेक वर्षको साउन महिनामा तमोर नदीको पानी प्रत्येक दिन विहान जोरपोखरीमा चढाउने परम्परा समेत रहेको छ ।

बालाचतुर्दशीका अवसरमा हिलिहाङ गाउँपालिका वडा नं. ५ र ६ को सीमानामा अवस्थित जोरपोखरी र चतुरे बजार क्षेत्रमा मेला समेत लाग्ने गर्दछ । मेलामा स्थानीय उत्पादनहरुको विक्रीका साथै मनोरञ्जनात्मक कार्यक्रमहरु र खेलकुदका कार्यक्रम आयोजना हुँदै आएका छन् । मेलाका अवसरमा यहाँका स्थानीयवासीले स्थानीय कृषि उपज विक्रीका लागि राख्नुका साथै लत्ताकपडा, फलफूल, खाद्यान्न लगायतका सामग्री विक्रीका लागि राख्ने प्रचलन छ । मेलाका अवसरमा ब्यापार गर्न स्थानीय ब्यवसायीहरु तथा सदरमुकाम फिदिमका ब्यवसायीहरुले समेत यहाँ स्टल राख्ने गरेका छन् ।

यस वर्ष हिलिहाङ गाउँपालिका वडा नं. ५ र ६ को आयोजनामा भलिवल र फुटबल प्रतियोगिता आयोजना गरिएको छ । हिँजोबाट सुरु भएको प्रतियोगिता भोलि सकिने हिलिहाङ–६ का वडाध्यक्ष कृष्णबहादुर यवाले जानकारी दिनुभयो । दुई वडा कार्यलयले खेलकुद प्रतियोगिताका लागि रु. चार लाख बजेटको ब्यवस्था गरेका हुन् । हिलिहाङ गाउँपालिका सहित विभिन्न निकायले जोरपोखरी क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्दै लगेपछि मेलाका अवसरमा आन्तरिक पर्यटकहरु घुमघामका लागि समेत यहाँ आउने गरेको चतुरे बजारका स्थानीयवासी वीरबहादुर यवाले वताउनुभयो ।

बालाचतुर्दशी मेला धान नाचका लागि समेत प्रख्यात छ । उमेर पुगेका लिम्बू समुदायका युवा युवतीहरु मेलाको अवसरमा यस क्षेत्रमा भेला भई धान नाच्ने प्रचलन रहिआएको छ । सशस्त्र द्वन्द्वका समयमा धान नाच्ने परम्परा कम हुँदै गएको थियो । तर पछिल्ला वर्षहरुमा धान नाच्ने प्रचलन पुनः सुचारु भएको छ । गाउँ–गाउँसम्म टेलिफोनको विस्तार हुनुपूर्व यहाँ लाग्ने बालाचतुर्दशी मेला प्रेमि–प्रेमिका भेटघाट गर्ने माध्यमका रुपमा समेत रहने गरेको थियो । प्रेमि–प्रेमिका भेटघाट र धान नाच्ने क्रममा धेरैले यहाँबाट भागेर विवाह गर्ने गरेका थिए । टेलिफोन र इन्टरनेटको पहुँच विस्तार भएपछि यो मेला भेटघाट गर्ने माध्यम बनेको छ ।

प्रतिक्रिया दिनुहोस्