पूर्वमन्त्री नेम्वाङलाई प्रदेश १ बाट केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत



फिदिम, १४ मङ्सिर

पूर्ववर्ती सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहँदा विकास निर्माण तथा संस्थागत सुधारका क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गर्दै चर्चा र स्याब्बासी बटुल्न सफल पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ आफ्नो पार्टी नेकपा (एमाले) भित्र समेत अधिक रुचाइएका नेतामा पर्नुभएको छ ।

नेम्वाङले एमालेको १०औं महाधिवेशनमा प्रदेश नं. १ बाट निर्वाचित हुने केन्द्रीय सदस्यमा सबैभन्दा बढि मत प्राप्त गर्नुभएको हो । नेम्वाङले कूल १९१० मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी हुनुभएको हो । प्रदेश नं. १ बाट ६ जना खुल्ला केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने भएपनि ७ जनाको उम्मेद्वारी परेपछि निर्वाचन भएको थियो ।

जसअनुसार नेम्वाङपछि दोश्रो मत एमाले धनकुटा अध्यक्ष राजेन्द्रकुमार राईले पाउनुभएको छ । उहाँले १८३६ मत, ताप्लेजुङका नेता टंक आङ्बोहाङ लिम्बूले १८१६ मत, तिलकुमार मेन्याङ्बो लिम्बूले १८०५ मत, किशोरकुमार अधिकारीले १७७३ मत र पर्शुराम अधिकारीले १७८३ मत पाई केन्द्रीय सदस्य विजयी हुनुभएको छ । केन्द्रीय सदस्यको उम्मेद्वार बन्नुभएका पाँचथर जिल्ला नै पुख्र्यौली रहनुभएका नेता भास्कर काफ्लेले भने ७२६ मत पाई पराजित हुनुभएको छ ।

यस्तै प्रदेश नं. १ बाट महिला कोटाको केन्द्रीय सदस्यमा उषाकला राई १८७५ मत, मञ्जु भण्डारी १७९० मत र मेनका काफ्ले १६२४ मत सहित विजयी हुनुभएको छ । प्रदेश नं. १ बाट महिला कोटाको केन्द्रीय सदस्यमा निरा खनालले ६१४ मत पाई पराजित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्