निवर्तमान सभापति केरुङद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी



पाँचथर, १४ मङ्सिर

नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले काँग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुहुने भएको छ ।

दुई पटक जिल्ला कार्यसमितिको नेतृत्व गर्नुभएका केरुङले महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुहुने भएको हो । “दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पूरा गरेकाले अब केन्द्रीय सदस्यको उम्मेद्वारको रुपमा आफूलाई अगाडि सारेको छु । सबै प्रतिनिधिहरुले माया गर्नु हुन्छ भन्ने विश्वास लिएको छु”, केरुङले भन्नुभयो, “लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा अथक प्रयासका लागि मेरो उम्मेद्वारी हो ।”

केन्द्रीय सदस्यको उम्मेद्वार बनेपछि निर्वाचन तयारीका लागि प्रदेश राजधानी विराटनगर र संघीय राजधानी काठमाडौं सहित महाधिवेशन प्रतिनिधिहरुसँगको भेटघाटका लागि सोमबारबाट अभियान प्रारम्भ गरेको केरुङले जानकारी दिनुभयो । काँग्रेस पाँचथरको सभापति बनेपछि केरुङ दोश्रो संविधान सभा निर्वाचन र प्रदेश सभा निर्वाचनमा पाँचथर क्षेत्र नंं. क बाट उम्मेद्वार समेत बन्नुभएको थियो ।

जिल्ला कार्यसमितिमा दुई कार्यकाल सहसचिवको जिम्मेवारी निभाएपछि केरुङ काँग्रेसको १२औं महाधिवेशनमा जिल्ला सभापतिमा चुनिनुभएको थियो । त्यसअघि केरुङ ट्रेड युनियन काँग्रेस पाँचथरको तीन कार्यकाल सभापति बन्नुभएको थियो ।

अग्रजको सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन गर्दै संगठन निर्माण, अभिलेखिकरण तथा राजनीतिक/सैद्धान्तिक बहस अगाडि बढाउने आफ्ना योजना रहेको केरुङले वताउनुभयो । समय सुहाउँदो पार्टी संगठन निर्माणलाई जोड दिई निरन्तर पार्टी र लोकतान्त्रिक आन्दोलनको रक्षाका लागि आफ्नो उम्मेद्वारी रहेको केरुङले वताउनुभयो ।

केरुङको परिचय भने राजनीतिमा मात्रै सिमित छैन् । उहाँले दशकभन्दा लामो समय फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापन समेत गर्नुभएको थियो । यस क्रममा उहाँ प्रजातान्त्रिक प्राध्यापक संघको केन्द्रीय सदस्य समेत बन्नुभएको थियो । केरुङ साहित्यिक क्षेत्रमा समेत स्थापित ब्यक्तित्व हुनुहुन्छ । विशेषत कविता लेखनमा केरुङको रुची रहेको छ । उहाँ दर्जनौं रचनाहरु प्रकाशन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्