
फिदिम, १० मङ्सिर
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ । उक्त महाधिवेशनका लागि पाँचथरबाट ८ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन् ।
एमाले पाँचथरका अनुसार संगठित सदस्यताको नवीकरणका आधारमा पाँचथर जिल्लाले भूगोलबाट ८ जना महाधिवेशन प्रतिनिधि प्राप्त गरेको हो । एमाले पाँचथरको सचिवालय बैठकले सहमतिमा महाधिवेशन प्रतिनिधि चयन गरेको थियो ।
आजबाट सुरु महाधिवेशनमा पाँचथरबाट खुल्लातर्फ छनौट हुनुभएका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ, पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य श्रीप्रसाद जबेगू, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, उपाध्यक्ष भुवानीप्रसाद लिङदेन र सचिव धनकुमार फियाक सहभागी हुनुहुन्छ ।
महिलाको कोटाबाट एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य आशारत्न जबेगू र प्रदेश कमिटी सदस्य एवं कुम्मायक गाउँपालिका उपाध्यक्ष सीता आचार्य सहभागी हुनुहुन्छ । यस्तै अल्पसङ्ख्यक वा दलित कोटाबाट एमाले जिल्ला सचिवालयका सदस्य नारायणप्रसाद खाती सहभागी हुनुभएको छ ।
यस्तै एमाले प्रदेश कमिटीका सदस्य भूमिका सुब्बा र अनेरास्ववियु केन्द्रीय कमिटीका उपाध्यक्ष कल्पना वाइवा भने क्रमशः अखिल नेपाल जनसाँस्कृतिक महासंघ र युवा विद्यार्थी विशेष विभागबाट महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । यस्तै सम्पर्क विशेष समन्वय कमिटीबाट पाँचथरकै कृष्ण आङदेम्बे महाधिवेशन प्रतिनिधि रहनुभएको छ ।
एमालेका बहालवाला केन्द्रीय सदस्यहरु महाधिवेशन प्रतिनिधि चुनिनु पर्दैन् । यसअनुसार एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज समेत रहनुभएका पूर्वमन्त्री डम्बरसिंह सम्बाहाम्फे र एमाले केन्द्रीय सदस्य, जिल्ला सहइन्चार्ज रहनुभएका संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ समेत महाधिवेशनमा सहभागी हुनुभएको छ । पाँचथरबाट समेत एमालेका कार्यकर्ताहरु एमाले महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन पुगेका छन् ।