एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुरु हुँदै



चितवन, १० मङ्सिर

नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहमा हुँदैछ । ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा एमालेले जनाएको छ । उद्घाटन अघि विभिन्न स्थानबाट जुलूस निस्किने छन् । ती जुलूस नारायणी नदी किनारमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ । उद्घाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेले बताएको छ ।

भीड व्यवस्थापनका लागि भन्दै स्थानीय प्रशासनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ खण्ड र नारायणगढको मुख्य बजारक्षेत्रभित्र आज बिहान ९ बजेदेखि अत्यावश्यक सेवाका बाहेक अन्य सबै सवारी साधन प्रवेशमा कडाई गरेको छ ।

उद्घाटन समारोहलाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । उद्घाटन समारोहमा सहभागी भएर एमालेलाई शुभकामना दिन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन जाँदैछन् । विभिन्न राजनीतिक दलका नेताहरु र विदेशी पाहुनाहरुलाई पनि एमालेले महाधिवेशनमा निम्तो दिएको छ ।

उद्घाटन समारोह सकिएपछि भोलिपल्टदेखि सौराहाको होटल सेभेन स्टारमा बन्दसत्र आयोजना हुनेछ । बन्दसत्रमा २ हजार १७५ र पर्यवेक्षक १३० जना गरी कुल २ हजार ३०५ जना सहभागी हुने एमालेले जनाएको छ । महाधिवेशनका लागि देशभरबाट एमालेका प्रतिनिधिहरु चितवनमा भेला भएका छन् । यिनै प्रतिनिधिहरुले एमालेको नयाँ नेतृत्व चयन गर्नेछन् ।

हालसम्म अध्यक्ष पदमा केपी शर्मा ओली स्वाभाविक दाबेदार छन् । यद्यपि एमाले उपाध्यक्ष भीम रावलले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमालेका कतिपय नेताहरु भने सर्वसहमतिबाट अध्यक्ष र पदाधिकारीहरु चयन गर्नुपर्ने पक्षमा छन् । कतिपय भने निर्वाचनमा जानुपर्ने पक्षमा छन् । एमालेको नयाँ नेतृत्व चुन्न सहमतिमा जाने कि निर्वाचन गर्ने भन्ने यकिन हुनसकेको छैन ।

उद्घाटन सत्रमा जनलहर उर्लिदै

एमालेको दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा जनलहर उर्लिने क्रम सुरु भएको छ । आज दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरु आउने क्रम सुरु भएको हो । आज बिहानैदेखि चितवनमा एमाले महाधिवेशनका लागि जनलहर सुरु भएको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताउनुभयो ।

महाधिवेशन उद्घाटनमा सहभागी हुनका लागि पूर्व तथा पश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधि तथा नागरिकहरुको बाक्लो उपस्थिति रहेको रावलले बताउनुभयो । चितवनबाट बाजागाजासहित जनसहभागिता हुने तयारी भइरहेको जिल्ला अध्यक्ष रावलको भनाइ छ ।

चितवनका सात वटै स्थानीय तहका ९८ वटा वडा, दुई वटा शाखा कमिटी तथा भातृ संगठनहरुबाट एक लाख मानिस उतार्ने गरी तयारी भएको जिल्ला अध्यक्ष रावलको भनाइ । महाधिवेशन उद्घाटन हुनुपूर्व चितवनतर्फको नदीकिनारमा मानिसहरुको व्यापक सहभागिता हुन सुरु भइसकेको भन्दै सहभागीहरुलाई संयमित हुनका लागि जिल्ला अध्यक्ष रावलले आग्रह गर्नुभएको छ ।

जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ४५ बढी स्थानमा स्वागतद्वार निर्माण गरिएको भन्दै रावलले देशभरीबाट पाँच लाख मानिसहरु नदीकिनारमा उतार्ने बताउनुभयो । महाधिवेशन उद्घाटनका लागि एमालेका नेताहरु चितवन आइसकेका छन् । आज दिउँसो नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्