एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरुः उद्घाटनमा लाखौँ सहभागी (फोटो फिचरसहित)



चितवन, १० मंसिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन भव्य समारोहकाबीच नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

देशभरका ७७ जिल्ला, ७५३ पालिका र ६ हजार ७४३ वटै वडाबाट आएका लाखौँ जनता, स्वेदशी तथा विदेशी पाहुनाहरुका बीचमा एमाले अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्नुभएको हो । महाधिवेशन उद्घाटन हुनुपूर्व नवलपुर र चितवनका विभिन्न स्थानबाट जनप्रदर्शन गरिएको थियो । उद्घाटन अगाडि आयोजित ¥यालीमा एमाले र केपी ओलीको पक्षमा नारासमेत लगाइएको थियो ।

एमाले महाधिवेशनमा आएका नेता, कार्यकर्ता, शुभेच्छुक, प्रतिनिधि तथा पर्यवेक्षकहरुले नारायणी नदी किनार भरिभराउ भएको छ । महाधिवेशनको उद्घाटन सत्र प्रत्यक्ष रुपमा हेर्नका लागि नवलपुर र चितवनतर्फ नारायणी नदीकिनारमा ठूला ठूला एलईडी डिस्प्ले समेत राखिएको छ । महाधिवेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले स्वागत मन्तब्य राख्नुभएको थियो । आज नारायणी नदी किनारमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्