भालुले आक्रमण गर्दा एक वृद्ध गम्भीर घाइते



पाँचथर, ९ मङ्सिर

भालुले आक्रमण गर्दा गाइवस्तु चराउन गएका पाँचथरको फालेलुङका एक वृद्ध गम्भीर घाइते भएका छन् ।

फालेलुङ गाउँपालिका–३ मेमेङका ७० वर्षीय रामकुमार राईलाई आज विहान अन्दाजी ७ बजे गाइवस्तु लिएर भ्याक्टे भन्ने जङ्गलतर्फ जाने क्रममा घरबाट करीब तीन किलोमिटर टाढा पुगेपछि भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणमा पर्दा राईको शरीरका विभिन्न भाग चोट लागेको छ । गम्भीर घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी नायव निरीक्षक राजन खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । भालुले आक्रमण गरेको स्थान इलाका प्रहरी कार्यालय मेमेङबाट करीब २० किलोमिटर उत्तरपूर्वमा रहेको छ । जिल्लाको फिदिम नगरपालिका तथा फालेलुङ र याङवरक गाउँपालिकाका उच्च पहाडी क्षेत्रमा जङ्गली जनावर भालु रहेको स्थानीयवासी तथा गोठालाहरुले वताउने गरेका भएतापनि पछिल्लो दशकमा मानिसलाई आक्रमण गरेको पाइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्