गाउँमै आँखाको निःशुल्क उपचार पाउँदा जेष्ठ नागरिकहरु खुशी



पाँचथर, ९ मङ्सिर

पाँचथरको कुम्मायक गाउँपालिका–५ की नरिमायाँ चेम्जोङ ७४ वर्ष पुग्नुभयो । शारीरिक रुपमा अशक्त उहाँ राम्रोसँग हिँडडुल गर्न त सक्नुहुन्न थियो नै, उमेर ढल्कँदै जाँदा श्रवण शक्ति कमजोर भइसकेको थियो । त्यसमाथि आँखाको दृष्टि क्षमता निकै कमजोर हुँदा वृद्धावस्थामा उहाँका दिनहरु निकै कष्टपूर्ण बने । असाध्यै पप्ठ्यारोमा परेपनि चेम्जोङको सुविधा सम्पन्न अस्पतालसम्म पुग्ने र उपचार गराउन सक्ने अवस्था थिएन । गाउँमा शल्यक्रिया सहितको आँखा शिविर घर नजिकैको यासोक बजारमा आउने सुनेपछि चेम्जोङ छोराको सहयोगले उपचारमा आउनुभयो । शल्यक्रियासहितको उपचारपछि मधुरो देख्ने आँखाहरु जवान हुँदाका जस्तै तेज भएपछि चेम्जोङ खुशी हुनुहुन्छ ।

कुम्मायक गाउँपालिकाको यासोक बजारमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा भेटिनुभएका कुम्मायक– ३ का ७२ वर्षीय रघुनाथ चम्लागाईँलाई आँखामा ज्योती फिर्दा नयाँ जीवन पाएजस्तो लागेको छ । वरपरका दृश्य हेर्दै आफ्ना अनुभवसुनाउँदै उहाँले भन्नुभयो, “आफ्नै परिवारका मान्छे चिन्न पनि गाह्रो थियो । अहिले निःशुल्क आँखाको अप्रेशन भएपछि राम्रोसँग देख्ने भएको छु ।” गुमेको दृष्टि फर्किँदा शरीर उर्जा थपिएको र हल्का महशुस भएको उहाँको अनुभव छ । घर नजिकैको यासोक बजारमा सञ्चालित आँखा शिविरमा सेवा लिएर खुशी हुने चेम्जोङ र चम्लागाईँ प्रतिनिधि पात्रहरु मात्रै हुनुहुन्छ ।

कुम्मायक गाउँपालिका र नेत्रज्योती संघ ताप्लेजुङको सम्झौतापछि आँखा उपचार केन्द्र यासोक बजारमा स्थापना भएको छ । आँखा उपचार केन्द्रको उद्घाटनसँगै आयोजित शिविरमा सेवा लिन पाउँदा ग्रामीण क्षेत्रका सेवाग्राही खुशी भए । उक्त शिविरमा २४ जना जेष्ठ नागरिकहरुको मोतियाविन्दू लगायत आँखाका समस्याको शल्यक्रिया सहितको उपचार भएको छ । अन्य दुई सय ८९ जनाले आँखासम्बन्धी समस्या समाधानका लागि शिविरबाट सेवा लिएका छन् ।

शिविरसँगै यासोकमा स्थापना भएको आँखा उपचार केन्द्रले दैनिक आँखा उपचारको सेवा दिने आँखा उपचार केन्द्र यासोकका प्रमुख बसन्त लिम्बूले जानकारी दिनुभयो । कुम्मायक गाउँपालिकाले आँखा उपचार केन्द्रलाई वार्षिक रु. सात लाख बजेत र भवन उपलब्ध गराउने गराएको छ । विशेषत जेष्ठ नागरिकहरुले सुविधायुक्त स्थानसम्म पुगेर आँखाको उपचार गराउन नसक्ने देखिएपछि आँखा शिविर सञ्चालन र आँखा उपचार केन्द्र स्थापना गरिएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले वताउनुभयो ।

आँखा शिविरमा इटहरी आँखा अस्पतालका डा. अंकिता शर्मा सहित ९ जनाको स्वास्थ्यकर्मीको टोलीले जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका आँखाको समस्या भएका विरामीको निःशुल्क उपचार गरेका थियो । यसक्रममा चस्मा र औषधी समेत वितरण गरिएको छ । दुई वर्षअघि समेत कुम्मायक गाउँपालिकाले यासोक बजारमा आँखा शिविर सञ्चालन गरेको थियो । जहाँ एक हजार ११० जनाले सेवा पाएका थिए भने ११३ जनालाई शल्यक्रियासहितको सेवा प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष चेम्जोङका अनुसार विशेषज्ञ चिकित्सकहरु सहितका स्वास्थ्य शिविर आयोजनाले रोग पालेर बसेकाहरुलाई समेत उपचारमा जान प्रोत्साहित गरिरहेको छ । यो गाउँपालिकाले चार वर्षको अवधिमा पाँच वटा स्वास्थ्य शिविरहरु सञ्चालन गरिसकेको छ । जसमा करीब दुई हजार सर्वसाधारणले सेवा पाएका छन् । यसरी सेवा लिनेहरुमा कुम्मायक सहित तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण समेत छन् ।

प्रतिक्रिया दिनुहोस्