यी हुन् काँग्रेसको जिल्ला कार्यसमितिमा विजयी पदाधिकारी तथा सदस्यहरु



पाँचथर, ८ मङ्सिर

नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी सुरेन्द्रकुमार दाहाललाई २०० बढी मतान्तरले पराजित गर्दै जबेगू सभापति निर्वाचित हुनुभएको हो ।

गएराती सम्पन्न मतगणनाअनुसार जबेगू ६३४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । दाहालले भने ४१६ मत प्राप्त गर्नुभयो । उपसभापति पदमा भने दाहाल पक्षका वृजहाङ आङदेम्बे र डिकेन्द्रकुमार चेम्जोङ विजयी हुनुभएको छ । आङदेम्बे ६२५ मत र चेम्जोङ ४५१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उपसभापति पदमा जबेगूको प्यानलका समरबहादुर अधिकारीले ४४० र मणिचन्द्र चेम्जोङले ४३३ मत प्राप्त गर्नुभयो ।

सचिव पदमा दीपक नेपाल ५२७ मत र डेकेन्द्रकुमार तामाङ ४७० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । सचिव पदमा धनराज तुम्बापोले ४१४, सुवराज थापाले ३७७ र एकराज नेम्वाङले १५६ मत प्राप्त गर्नुभएको छ । यस्तै सहसचिव पदमा ६०८ मत प्राप्त गर्दै सन्तोष श्रेष्ठ र ४९९ मत प्राप्त गर्दै गजेन्द्र राई विजयी हुनुभएको छ । सहसचिव पदमा धनसिंह नेम्वाङले ४३० र कृष्णकुमार फियाकले ३७० मत प्राप्त गर्नुभएको छ ।
यस्तै निर्वाचन भएका असआर्य जिल्ला सदस्य पदमा गणेशप्रसाद पोखरेल, आदिवासी जनजाति सदस्य पदमा विजयहाङ आङदेम्बे, धनकुमार लावती, देउकुमार योङहाङ र शशीराज आङदेम्बे विजयी हुनुभएको छ ।

यस्तै फिदिम नगरपालिकाबाट महिला सदस्यमा विमला हाङसरुम्बा, फिदिम नगरपालिकाबाट खुल्ला सदस्यमा राजकुमार नेम्वाङ र रमेशभगत प्रधानाङ्ग, याङवरक गाउँपालिकाबाट महिला सदस्यमा दिला खेवाङ, पुरुष सदस्यमा मविन्द्र योङया, फाल्गुनन्द गाउँपालिकाबाट खुल्ला सदस्यमा चन्द्रकुमार आङदेम्बे, मिक्लाजुङ गाउँपालिकाबाट खुल्ला सदस्यमा वीरेन्द्रकुमार शेर्मा, तुम्बेवा गाउँपालिकाबाट खुल्ला सदस्यमा डिलेन्द्रकुमार शेर्मा र महिला सदस्यमा लिला राई, कुम्मायक गाउँपालिकाबाट महिला सदस्यमा मनकुमारी शेर्मा र पुरुष सदस्यमा गोविन्दबहादुर फुयाल विजयी हुनुभएको छ । बाँकी जिल्ला कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्