काँग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ का पदाधिकारीमा योङहाङ नेतृत्वको प्यानल नै विजयी



पाँचथर, ४ मंसिर

नेपाली काँग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’ कार्यसमितिका पदाधिकारीमा जिल्ला कार्यसमिति सभापतिका आकाङ्क्षी रुपनारायण जबेगू पक्षीय भगीश्वर योङहाङ नेतृत्वको प्यानलै विजयी भएको छ ।

क्षेत्रीय कार्यसमितिको सभापति पदमा योङहाङले २९६ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी एवं काँग्रेस जिल्ला कार्यसमिति सभापतिका आकाङ्क्षी सुरेन्द्रकुमार दाहाल पक्षधर कुमार राई (प्रताप)ले २६२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै कार्यसमितिको सचिवमा योङहाङको प्यानलका यससुन्दर आचार्य र सन्तोष मोक्तान विजयी हुनुभएको छ । आचार्यले ३२६ मत र मोक्तानले २७८ मत प्राप्त गर्नुभएको छ । सचिव पदमा राईको प्यानलका केशव गुरागाँईले २३० मत र टेकराज योङहाङले २०७ मत प्राप्त गर्नुभएको छ ।

सहसचिवमा योङहाङको प्यानलका नरेन्द्र पन्थाक ३०६ मत र सुन्दर थोक्लिहाङ ३१४ मत पाई विजयी हुनुभएको छ । सहसचिव पदमा राईको प्यानलका राजन बुढाथोकीले २२१ मत र रुपेन्द्र तामाङले १७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मीप्रसाद ढुङ्गानाले घोषणा गर्नुभयो । प्रदेश अधिवेशन प्रतिनिधिको भने मतगणना जारी छ ।

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. क बाट अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ५८४ जना चुनिएका छन् । जसमध्ये आज विहान भएको मतदानमा ५७२ जनाले भाग लिएका थिए । १२ जना भने मतदानमा अनुपस्थित थिए । क्षेत्रीय कार्यसमितिको उपसभापतिमा भने भरतकुमार खपाङ्गी र सीताराम न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्