काँग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को मतगणना जारी, सभापतिमा योङहाङको अग्रता



पाँचथर, ४ कात्तिक

आज सम्पन्न नेपाली काँग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. क को मतदानको मतगणना जारी छ ।

हालसम्म ३०० मत गणना हुँदा प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिको सभापति पदमा भगिश्वर योङहाङले अग्रता कायम गर्नुभएको छ । उहाँले १४९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी कुमार राईले १४३ मत पाउनुभएको छ । सभापतिमा अग्रता कायम गर्ने योङहाङ काँग्रेस पाँचथर जिल्ला कार्यसमिति सभापतिको उम्मेद्वार रुपनारायण जबेगू पक्षधर हुनुहुन्छ ।

प्रदेशसभा कार्यसमितिको उपसभापति सर्वसम्मत भइसकेका छन् । सचिव पदमा योङहाङ प्यानलकै यससुन्दर आचार्य र सन्तोष मोक्तानले अग्रता कायम गर्नुभएको छ । जसअनुसार आचार्यले १७१ मत र मोक्तानले १४९ पाउनुभएको छ । यहाँ राई पक्षका सचिवमा उम्मेद्वार केशब गुरागाईले १२८ मत र टेकराज योङहाङले १०७ मत पाउनुभएको छ । यस्तै सहसचिवमा पनि योङहाङ पक्षकै नरेन्द्र पन्धाक १५६ मत र सुन्दर थोक्लिहाङ १६७ मत सहित अगाडि हुनुहुन्छ । उहाँहरुका प्रतिस्पर्धी राजन बुढाथोकीले ११४ मत र रुपेन्द्र तामाङ ९५ मत पाउनुभएको छ ।

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. क बाट प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमिति तथा जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चुन्नका लागि क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ५८४ जना चुनिएका छन् । जसमध्ये मतदानमा ५७२ जनाले भाग लिएका थिए । १२ जना भने मतदानमा अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्