सन्त बेघाको अध्यक्षतामा एमाले याङवरक गाउँपालिका कमिटी निर्वाचित



फिदिम, २६ कात्तिक ।

नेकपा (एमाले)को पाँचथरको याङवरक गाउँपालिकामा सन्तप्रसाद बेघाको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ ।

हिँजो सुरुआत भई आज विहान सम्पन्न गाउँपालिका अधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन भएको एमाले पाँचथरका उपसचिव नरबहादुर गुरुङले जानकारी दिनुभयो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा रामकुमार योङहाङ, सचिवमा डिल्ली सुवेदी र उपसचिवमा वुद्धिप्रसाद सेलिङ (अनिष) सेलिङ र नरबहादुर खड्का निर्वाचित भएका छन् ।

अधिवेशन एमाले प्रदेश कमिटी सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको प्रमुख आतिथ्यता तथा एमाले प्रदेश कमिटी सदस्य एवं पूर्वमन्त्री विशिष्ट अतिथि श्रीप्रसाद जेवगूको विशिष्ट आतिथ्यतामा याङवरक–३ ओयाममा आयोजना भएको थियो । कार्यक्रममा एमाले पाँचथरका उपसचिव नरबहादुर गुरुङ, गाउँपालिका अध्यक्ष एवं एमाले गाउँपालिका इन्चार्ज लेखनाथ घिमिरे, गाउँपालिका उपाध्यक्ष एवं गाउँपालिका सहइन्चार्ज कमलकुमारी योङहाङ, नेताहरु भीम माबो, बिलास योङ्या लगायतको समेत उपस्थिति थियो ।

उक्त कार्यक्रममा याङवरक गाउँपालिका वडा नं. २, ३ र ४ बाट काँग्रेस, माओवादी केन्द्र र जसपाका ३४ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले याङवरक–३ का अध्यक्ष विमल राईका अनुसार ओयामको भोटेगाउँ टोलबाट भीम माबो, सोम राई लगायतको नेतृत्व टोलका सबै घर परिवार एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्