कुम्मायकमा निर्वाचनबाट एमालेले छान्यो नयाँ नेतृत्वः अध्यक्षमा निरौला



फिदिम, २६ कात्तिक ।

नेकपा (एमाले)ले पाँचथरको कुम्मायक गाउँपालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व निर्वाचित गरेको छ ।

गाउँपालिका कमिटीको अध्यक्षमा सहमति जुट्न नसकेपछि आयोजक कमिटीका अध्यक्ष मेघराज निरौला र कुम्मायक गाउँपालिका–४ का वडाध्यक्ष पूर्णकुमार खड्कावीच चुनावी प्रतिस्पर्धा भएको थियो । गाउँपालिका कमिटीको अधिवेशनमा १२० जना प्रतिनिधिहरु सहभागी थिए । मतदानमा निरौलाले ९७ मत पाई विजयी हुनुभएको छ भने खड्काले २३ मत प्राप्त गर्नुभएको नवनिर्वाचित कमिटीका सचिव रुपेश शेर्माले जानकारी दिनुभयो । हिँजो साँझबाट सुरु भएको बन्द सत्र विहान ३ बजे मतगणनाको प्रकृयापछि सम्पन्न भएको थियो ।

कुम्मायकमा अध्यक्ष बाहेकका पदाधिकारीमा भने सहमति भएको छ । जसअनुसार कुम्मायक गाउँपालिका कमिटीको उपाध्यक्षमा रिजवन सम्बाहाम्फे, सचिवमा रुपेश शेर्मा र उपसचिवद्वयमा छविकुमारी ढकाल र इन्द्र चेम्जोङ निर्वाचित भएका छन् । नवनिर्वाचित कमिटी ५१ सदस्यीय छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एमाले पाँचथर जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारीले सपथ गराउनुभएको छ ।

अधिवेशनमा प्रदेशसभा सदस्य एवं एमाले प्रदेश कमिटी सदस्य आशारत्न जबेगू, जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, उपाध्यक्ष सीता आचार्य सहितका नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्