
पाँचथर, २५ कात्तिक
आज किराँत धर्मगुरु फाल्गुनन्द लिङदेनको १३७औं जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइदै छ ।
महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँको जन्मभूमि इलाम, साधना तथा देहवसान स्थल पाँचथर सहित किराँती समुदायको बसोबास रहेका स्थानमा धुमधामका साथ जन्मजयन्ती मनाइदै छ । जन्मजयन्तीका अवसरमा धार्मिक प्रवचन, माङहिम (मन्दिर)हरुमा पूजा अर्चना, फाल्गुनन्दका शालिक तथा प्रतिमाहरुमा माल्र्यापण, महागुरु फाल्गुनन्दले दिनुभएका उपदेशहरु तथा सत्यधर्म मुचुल्काको परिचर्चा, लिम्बु समुदायको साँस्कृतिक, धार्मिक, भाषिक पहिचानको जगेर्ना र सम्वद्र्धन लगायतका विषयमा छलफल तथा विमर्स हुने गरेका छन् । प्रत्येक वर्ष पूर्वी नेपालको एक स्थानमा जन्मजयन्तीको मूल कार्यक्रम आयोजना हुने गरेको छ ।
किराँत धर्म तथा साहित्य उत्थान संघ सहित विभिन्न संघ संस्थाहरुको आयोजनामा मूल कार्यक्रम आयोजना गर्ने गरिएको छ । यसवर्ष मोरङको केराबारीमा मुहिगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेन मिङ्सो माङहिमको उद्घाटन एवं महागुरु फाल्गुनन्दको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको किराँत धर्म तथा साहित्य उत्थान संघले जनाएको छ । उक्त कार्यक्रममा महागुरु फाल्गुनन्दका उत्तराधिकारी धर्मगुरु आत्मानन्द लिङदेन सेइङ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङदेनबाट धार्मिक प्रवचनको कार्यक्रम समेत राखिएको छ । जन्मजयन्तीको समारोह हुने स्थानहरुमा प्रत्येक वर्ष कात्तिक २३ गते गालीश्राम बगाउने र २४ गते सेवा पूजा गर्ने प्रचलन रहेको फाल्गुनन्दको तपोभूमि लब्रेकुटी क्षेत्र र किराँत धर्मका क्षेत्रका क्रियाशील युवा सुवास तुम्बापोको भनाई छ ।
वि.सं. १९४२ कात्तिक २५ गते हाल इलामको माङसेबुङ गाउँपालिका वडा नं. २ पर्ने इभाङको चुक्चिनाम्वामा आमा हंशमति र बुवा जगनबाज लिम्बुको कोखबाट साहिला सन्तान उहाँको जन्म भएको थियो । जन्मको नरध्वज लिङदेन रहनुभएका उहाँ कर्मले फाल्गुनन्द भएर उदाउनुभएको पाइन्छ । १६ वर्षमा वर्मामा सैनिकको रुपमा काम गर्न थाल्नुभएका फाल्गुनन्द १९१४ को पहिलो विश्वयुद्धमा समेत सामेल हुनुभएको थियो ।
तर मानव–मानव वीचको लडाँइ र मारामारबाट शान्ति नहुने बुझेर सैनिक जागिर त्यागी नेपाल फर्केर हाल पाँचथरको फिदिम नगरपालिका–३ चोकमागूमा पर्ने लब्रेकुटीमा आई साधना र तपस्यामा तल्लीन हुनुभएको थियो । तत्कालीन अवस्थामा धर्म, संस्कार र संस्कृतिमा देखिएका विकृति, विसंगति र कुरितिहरुलाई हटाई मौलिक धर्मसंस्कृतिको सम्वद्र्धनका लागि वि.सं. १९८८ वैशाख २५ गते तत्कालीन १० लिम्वुवान १७ थुमका जिम्मेवार अगुवाहरुको भेला गराई १० बुँदे सत्य धर्म मुचुल्का लागू गराई आजीवन किराँत धर्मको प्रचारमा लाग्नु भएपछि फाल्गुनन्द महागुरुका रुपमा चर्चित हुनुभएको थियो ।
लिम्बु समुदायले फक्ताङलुङ भन्ने गरेको ताप्लेजुङमा रहेको कुम्भकर्ण हिमश्रृङ्खला किराँतीहरुको मोक्षस्थल रहेको परिभाषित एवं प्रचारित गरेर उहाँले मोक्षप्राप्तिको मार्ग समेत देखाउनु भएको थियो । किराँतीहरुको मौलिक धर्म र संस्कृतिको प्रचार गर्दै नेपालका विभिन्न जिल्लाहरु सहित भारत, तत्कालीन सिक्किम र भुटानमा समेत पुग्नुभएपछि राणा शासकले उहाँलाई देशद्रोहीको मुद्दा समेत लगाएका थिए । फाल्गुनन्दको वि.सं. २००५ सालमा हाल पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पर्ने इम्वुङको हाङयक भन्ने स्थानमा देहवसान भएको थियो । उहाँको समाधिस्थल फाल्गुनन्द र फिदिमको सीमानामा पर्ने सिलौटीमा रहेको छ ।
फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते १६ औ राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको स्मृतिमा २०५० सालमा सरकारबाट रु. १५ को हुलाक टिकट समेत प्रकाशित छ । उहाँको जन्मजयन्तीमा प्रदेश नं. १ मा सार्वजनिक विदा हुन थालेको छ । आफ्नो मौलिकता बिर्सन नहुने, धर्म, संस्कार र संस्कृतिका नाममा तडकभडक गर्न नहुने, आफ्नो गच्छे (क्षमता)अनुसार धर्म, संस्कार र संस्कृति मनाउनु पर्ने, मदिरा सेवन गरी आर्थिक र सामाजिक रुपले भ्रष्ट हुन नहुने, पशु बली गर्न नहुने, नैवेद्य तथा फलफूल चढाए तागेरानिङ्वाभुमाङ (परमेश्वर भगवान) खुशी हुने, छोरी चेलीको विवाह गर्दा रित लिन नहुने, सिरिजङ्गा लिपिको प्रयोग, मातृभाषाको प्रयोग र संरक्षण गर्नुपर्ने, स्वदेशी कपडाको प्रयोग गर्नुपर्ने जस्ता मौलिक सामाजिक परम्पराका लागि महागुरु फाल्गुनन्दले अभियान चलाउनुभएको किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिं थेगिमको भनाई छ । उहाँलाई किराँत धर्मका पथ प्रदर्शक, अहिंसाका पूजारी, मानव कल्याण र विश्व शान्तिका पक्षधर साधक तथा दार्शनिक भन्ने गरिन्छ ।
महागुरु फाल्गुनन्द किराँत धर्मका महान गुरु तथा समाज सुधारक हुनुहुन्थ्यो । फाल्गुनन्दलाई किराँत भाषामा ‘मुहिगुम आङसिमाङ’ भनिन्छ । उहाँले नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर लैङ्गिक समानताको वकालत गर्नुभएको थियो । इलामको माङसेबुङमा धर्मगुरु आत्मानन्दले स्थापना गर्नुभएको माङहिम अहिले किरात धार्मिक स्थलको रुपमा प्रसिद्ध छ भने पाँचथरका लबे्रकुटी, सिलौटीलगायत स्थानमा पनि फाल्गुनन्दकै नामबाट धार्मिक पर्यटन बढेको लब्रेकुटी क्षेत्र तथा किराँत धर्मको संरक्षणमा सक्रिय ध्रुबकुमार तुम्बापोको भनाई छ ।