पुर्खौली नगरमा सुवासचन्द्र नेम्वाङ (तस्वीरहरु)



फिदिम, २५ कात्तिक ।

गृहजिल्ला इलाम भएपनि संविधानसभाका अध्यक्ष समेत रहनुभएका नेकपा (एमाले) संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङको पुर्खौली गाउँ पाँचथरको फिदिम हो । एमाले फिदिम नगरपालिका कमिटीको बुधवार आयोजित प्रथम नगर अधिवेशनमा सहभागी हुन हिँजो फिदिम आई हिजो नै इलाम फर्कनुभएका नेम्वाङलाई भेट्न उहाँका नाम सुनेका, चिनेजानेका तथा आफन्तहरु जोरजबरजस्ती समेत गरे ।

मिठासपूर्ण आवाजमा तथ्यपूर्ण र गहन तर्क गर्ने, मृदुभाषी र शालिन नेता नेम्वाङको भाषण सुन्न एमाले सहित राजनीतिक दलका कार्यकर्ता मात्रै होइन्, आम सर्वसाधारण पनि इच्छुक हुन्छन् । मिठो बोलेरै विपक्षीलाई प्रहार गर्ने नेम्वाङको विशेषता हो । सभामुख र संविधानसभाको अध्यक्ष हुँदा जनमानसले पत्याएको र बाकपटुतामा धेरै अब्बल नेम्वाङ पुख्र्यौली गाउँ समय मिलाएर आइरहनु हुन्छ ।

थोरै बोल्ने विशेषता भएपनि हिँजो फिदिममा आयोजित एमाले नगर कमिटीको कार्यक्रममा नेम्वाङले निकै लामो सम्बोधन गर्नुभयो । कार्यकर्ताको उल्लेख्य उपस्थिति पाएपछि खुशी नेम्वाङले आफूअघि बोलेका नेताहरुका कुरामा सहमति जनाउँदै स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई अपील गर्नुभयो ।

एमाले विभाजनको ठूलो असर नपरेको, सरकारका कारण एमालेलाई जनतामा जान झनै सहज भएको, सरकारले गति लिन नसकेको, विवादै विवादमा फसेको, एमालेको संगठन चुस्त सुदृढ भएको, पार्टीभित्र सबैलाई मिलाउन सर्वसहमतिमा नयाँ नेतृत्व चयनको विकल्प नभएको जस्ता नेम्वाङका सन्देश थिए । पार्टी महाधिवेशनमा कार्यकर्तालाई आमन्त्रण गर्दै नेम्वाङले एमालेको आसन्न अधिवेशन र हालै सम्पन्न विधान महाधिवेशनबारे लामै चर्चा गर्न भ्याउनुभयो ।

उक्त कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री एवं संविधानसभा सदस्य श्रीप्रसाद जबेगू, संविधानसभा सदस्य एवं एमाले केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, प्रदेशसभा सदस्य आशारत्न जबेगू, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी लगायतले समेत सम्बोधन गर्नुभयो ।

तस्वीरमा हेरौँ एमाले फिदिम नगरको अधिवेशनमा नेम्वाङको उपस्थिति ।

प्रतिक्रिया दिनुहोस्