यो दुषित गठबन्धनको सरकार हो : नेम्वाङ



पाँचथर, २४ कात्तिक

नेकपा (एमाले) संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सरकार दुषित गठबन्धनबाट बनेको वताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनको अघिल्लो सरकारको निर्णय उल्ट्याई परमादेशबाट प्रधानमन्त्री तोक्ने अदालतको फैसला र प्रधानन्यायाधीशका मानिस मन्त्री बनाउने विषयमा सरकार र गठबन्धन नाङ्गिएको वताउँदै एमाले स्थायी कमिटी सदस्य नेम्वाङले कुनै पनि प्रश्न थेग्न नसक्ने भएकाले वर्तमान सरकार दुषित र टिप्पणी गर्न लायक नरहेको वताउनुभयो । नेकपा (एमाले) फिदिम नगरपालिका कमिटीको प्रथम अधिवेशनलाई आज फिदिममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेम्वाङले संसारमा कहिँ नभएको फैसलाबाट एमाले सरकारबाट बाहिरिनु परेको वताउनुभयो । “केपी ओली सरकारमा जाने सबै बाटोहरु बन्द गरेर अदालतले नयाँ सरकार गठन गरेको छ”, नेम्वाङले भन्नुभयो, “विश्वास मत लेउ भन्ने आँट नगरेर अदालतले मन्त्रिपरिषदमा भाग खोज्यो ।”

सर्वोच्च अदालतले न्यायीक मन राखेमा एमालेले अदालतसमक्ष गरेका दाबी पुष्टि हुने वताउँदै नेम्वाङले दलले कारबाही गरेका सांसदहरुबाट नयाँ पार्टी गठनलाई मान्यता दिने कदम लोकतान्त्रिक हुन नसक्ने बताउनुभयो । नेम्वाङ एमालेबाट विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) अवैधानिक भएको वताउँदै उक्त दललाई एमालेले दलको मान्यता दिन नसक्ने वताउनुभयो । एकै पटक सदनको अन्त्य गर्ने, अध्यादेश जारी गर्ने, निर्वाचन आयोगले तत्कालै नियमावली संशोधन गर्ने तथा दल गठनका लागि केही मान्छे तयार हुने विषय केवल एमालेलाई कमजोर पार्ने योजनाका साथ अगाडि बढेको नेम्वाङको आरोप छ ।

फरक प्रसङ्गमा नेम्वाङले एमाले जनताले हराएर, संसद्मा विश्वासको मत जुटाउन नसकेर, लोकतान्त्रिक प्रणालीबाट बाहिर नभएको तर अचानक आएको अदालतको फैसलाले प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको बताउनुभयो । “अचानक आएको फैसलाले एमाले सरकार बाहिर भएपनि आगामी निर्वाचनबाट मुल ढोकाबाट सरकारमा पुग्छ”, नेम्वाङले भन्नुभयो, “हामीलाई सरकारमा जाने जनादेश छैन् भन्ने मान्छे अदालतको फैसलाले प्रधानमन्त्री हुनुभएको छ ।”

सरकार सञ्चालनका लागि सरकारमा आवद्ध दलहरुले गठन गरेको सर्बदलीय गठबन्धनलाई संविधान र कानूनले नचिन्ने नेम्वाङले वताउनुभयो । संविधानले मुलुकलाई प्रधानमन्त्रीय पद्धति भएको देशका रुपमा स्पष्ट रुपमा ब्यवस्था गरेको भन्दै नेम्वाङले प्रश्न गर्नुभयो, “सर्वदलीय गठबन्धन कहाँबाट आयो ? यसलाई संविधानले चिन्दैन् । कानूनले चिन्दैन ।” मन्त्रिपरिषद सर्वदलीय हुनसक्ने वताउँदै नेम्वाङले वर्तमान सरकार यस्तै अचम्मका र बेतुकका काम गर्दै आएको टिप्पणी गर्नुयभो ।

नेम्वाङले सरकारले गरेका कामका विषयमा गठबन्धन भित्रैबाट प्रश्न उठेको र सरकारका कदम टिप्पणी गर्न योग्य नभएको वताउनुभयो । ८८ दिनसम्म सरकार विस्तार नहुनु, सरकारले स्पष्ट गति लिन नसक्नु तथा संसद् र सरकार कमजोर हुँदा मुलुकले इतिहासमै पहिलो पटक बजेटविहीन अवस्था ब्यहोर्नुपरेको वताउँदै नेम्वाङले यो अवस्था लज्जाजनक भएको वताउनुभयो ।

एमालेले गरेका कामका आधारमा सम्मानका साथ छाती फुलाएर जनतामा जाने र ढुक्का साथ जनताको साथ पाउने अवस्थामा रहेको भन्दै नेम्वाङले कार्यकर्ताहरुलाई आगामी स्थानीय तह निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो । नेम्वाङले एमालेको आसन्न महाधिवेशनले पार्टीलाई झनै सशक्त र गतिशील बनाउने वताए ।

कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ, पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य श्रीप्रसाद जवेगू, संविधानसभा सदस्य एवं एमाले केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी लगायतले समेत मन्तब्य राख्नुभएको थियो । एमाले फिदिम नगरपालिका कमिटीको अधिवेशनको बन्द सत्र आजै सुरु हुने नगरपालिका कमिटी अध्यक्ष पृथ्वी लावतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्