जलकुमार तामाङको अध्यक्षतामा एमालेको ७५ सदस्यीय फिदिम नगर कमिटी निर्वाचित



फिदिम, २४ कात्तिक ।

नेकपा (एमाले) फिदिम नगर कमिटीको प्रथम अधिवेशनले जलकुमार तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ नगर कमिटी निर्वाचित गरेको छ ।

अधिवेशनअन्तर्गत बुधबार राती सम्पन्न बन्द सत्रबाट तामाङको अध्यक्षतामा सहमतिमा नयाँ नगर कमिटी चुनिएको हो । उक्त कमिटीको उपाध्यक्षमा हेमबहादुर फागो, सचिवमा दीपेन्द्र तुम्बापो र उपसचिवद्वय दीपेन्द्र थापा मगर र सुमन चापागाँई निर्वाचित भएका हुन् । निर्वाचित कमिटीको ३३ प्रतिशत अर्थात २५ जना महिला सदस्य छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एमालेका केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला सहइन्चार्ज अइन्द्रसुन्दर नेम्वाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । एमाले स्थायी कमिटीका सदस्य समेत रहनुभएका संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

बन्द सत्रमा केन्द्रीय सदस्य नेम्वाङ सहित जिल्ला अध्यक्ष राजकुमार भण्डारी, प्रदेश कमिटी सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ, प्रदेश कमिटी सदस्य एवं पूर्वमन्त्री श्रीप्रसाद जबेगू, प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य आशारत्न जबेगू, प्रदेश कमिटी सदस्य भूमिका सुब्बा, प्रदेश कमिटी सदस्य करुणा राई नेम्वाङ सहित जिल्ला कमिटीका पदाधिकारी लगायत नेताहरु तथा अधिवेशनका लागि आएका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता थियो ।

फिदिम नगरमा समेत एमालेले युवाहरुलाई नेतृत्वमा जिम्मेवारी दिएको छ । जिल्लाको कूल जनसंख्याको एक चौथाई अर्थात झण्डै ५० हजार जनसंख्या रहेको, जिल्लाको एकमात्रै नगरपालिका रहेको र १४ वटा वडा भएको फिदिम नगरमा एमालेका उपाध्यक्ष बाहेकका चार पदाधिकारी ४० वर्ष हाराहारी र सोभन्दा कम उमेरका छन् । पाँच पदाधिकारीमा एमालेले साविकका फिदिम, चोकमागू, रानीटार, लुङरुपा र नांगीन गाविसको प्रतिनिधित्व गराई समावेशी कमिटी निर्माणको प्रयास समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्