पाँचथरमा एमालेका स्थानीय तह कमिटीको अधिवेशन हुँदै



फिदिम, २३ कात्तिक

पाँचथरमा नेकपा (एमाले)का स्थानीय तहका कमिटीको अधिवेशन आजबाट सुरु भएको छ ।

जिल्लाका आठ वटा स्थानीय तहमध्ये आज जिल्लाका हिलिहाङ, तुम्बेवा, फालेलुङ र फाल्गुनन्द गाउँपालिकामा गाउँपालिका कमिटीको अधिवेशन हुँदैछ । भोलि जिल्लाको फिदिम नगरपालिकामा तथा पर्सि बाँकी रहेका मिक्लाजुङ, कुम्मायक र याङवरक गाउँपालिकामा अधिवेशन हुन लागेको एमाले पाँचथर जिल्ला कमिटीका कार्यालय सचिव पृथ्वी लावतीले जानकारी दिनुभयो ।

एमालेले गत कात्तिक ३ गते देशैभरिका वडाहरुको अधिवेशन तथा कात्तिक ९ गते स्थानीय तह कमिटीको अधिवेशन तय गरेको थियो । तर पाँचथरमा बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि एमालेले वडा तथा स्थानीय तह कमिटीको अधिवेशन स्थगित गरेको थियो । स्थगित भएको वडाको अधिवेशन गत कात्तिक १५ र १६ गते सम्पन्न भएको कार्यालय सचिव लावतीले जानकारी दिनुभयो । सवै वडामा एमालेले सहमतिमा नयाँ वडा कमिटी चयन गरेको छ ।

आजबाट सुरु भएको स्थानीय तह कमिटीको अधिवेशनबाट समेत सकेसम्म सहमतिमै नयाँ नेतृत्व चयन हुने एमाले पाँचथरले जनाएको छ । स्थानीय तह अधिवेशनका लागि केन्द्रीय कमिटी सदस्य अइन्द्रसुन्दर नेम्वाङ, प्रदेश कमिटी सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, प्रदेश कमिटी सदस्य एवं पूर्व राज्यमन्त्री श्रीप्रसाद जबेगू, जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारी लगायत नेताहरु खटिएका छन् । गत स्थानीय तह निर्वाचनमा पाँचथरमा एमालेले चार स्थानीय तह प्रमुख, पाँच स्थानीय तह उपप्रमुख सहित ६० मध्ये २९ वडामा वडाध्यक्ष जितेको छ ।

प्रतिक्रिया दिनुहोस्