भाइटीकाका दिन प्रदेश १ मा दुर्घटनाबाट ७ जनाको मृत्यु ७ जना घाइते



फिदिम । भाइटीकाको दिन हिँजो बेलुका मोरङ, झापा र उदयपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाइते भएका छन् ।

हिजो बेलुका ६ बजे मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको बा १० च ४३०० नम्बरको स्करपियो एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल सवार तिन जना मध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा चालक लेटाङ नगरपालिका–२ का ३० बर्षीय कमल कार्की र पछाडिसवार पथरीशनिश्चरे नगरपालिकाका–५५ बर्षीय तिलकबहादुर सुबेदीको घटनास्थलमै मृत्यु भएको हो भने पछाडिसवार लेटाङ नगरपालिका–२ कि ४५ बर्षीया सीता कार्की वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बेलुका सँवा ७ बजे मृत्यु भएको हो । स्करपियो र स्करपियो चालक लेटाङ नगरपालिका–२ का पुष्पबहादुर मगर इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

यस्तै, हिजो बेलुका पौने ६ बजे मोरङको रंगेली नगरपालिका–६ टकुवापिपल चौकको भित्री सडकमा साइकल यात्री मोरङ सुनवर्षी नगरपालिका–६ पटियापाडा का ३० बर्षीय सत्रुघन साह आफैँले चलाएको साइकल अनियन्त्रीत भई दुर्घटना हुँदा घाइते भएको र उपचारका लागि रंगेली अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ ।

यस्तै, हिजो बेलुका ६ बजे उदयपुरको त्रियुगा नगरपालिका ११ मेनचोकमा पूर्वतर्फ जाँदै गरेको स १ ह १६२० नम्बरको अटो र पिपलचोकबाट पूर्वतर्फ जाँदै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका–११ का ८५ बर्षीय कुलप्रसाद भण्डारी रहेका छन् । उनको न्युरो बिराटनगरमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो भने मोटरसाइकल चालक सप्तरी कंचनपुर नगरपालिका–१२ का ५२ बर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ बर्षीय नर बहादुर कार्की सामान्य घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।

यस्तै, हिजो बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका–६ गिरीबन्दु टिस्टेट अगाडि पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रंगको २२० सीसी पल्सर मोटरसाइकल र बिपरित दिशा तर्फ जादै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटी एकापसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटीमा सवार स्कुटी चालक मेचीनगर नगरपालिका–१० का ४२ बर्षीय डिल्ली कार्की, स्कुटीमा सवार उनका छोरा १६ बर्षीय मनिस कार्की र अर्को मोटरसाइकल पछाडी सवार झापा हल्दिबारी गाउँपालिका–२ का २१ बर्षीय पिजेश लामा घाइते भई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।

घाइते मध्ये स्कुटीमा सवार रहेका मनिसको राती ९ बजे उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा सम्लग्न रहेको अर्को मोटरसाईकल चालक झापा हल्दिबारी गाउँपालिका–२ का उमेश लामा मोटरसाइकल सहित फरार रहेकाले खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस्तै हिजो राती साढे ११ बजे झापा मेचीनगर नगरपालिका–१३ तेलिबारीमा पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको प्रदेश–१–०४–०१४प ३३४५ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा चार जना घाइते भएका थिए । घाइतेमध्ये अभिषेक श्रेष्ठको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा राती साढे १२ बजे मृत्यु भएको छ भने बाकी ३ जना घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्