नाकाबन्दीको अवस्थामा लेखगाउँवासी, खाद्यान्न समेत अभाव



पाँचथर, २१ कात्तिक

पहिरोमा क्षतिग्रस्त बनेका संरचनाहरुको पुनर्निर्माण नहुँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँका स्थानीयवासी नाकाबन्दीको अवस्थामा परेका छन् ।

लेकगाउँसम्म पुग्ने सडक, विद्युत, खानेपानी लगायतका संरचनाको पुनर्निर्माण नहुँदा स्थानीयवासी समस्या परेका हुन् । पहिराले सयौँ स्थानमा सडक अवरुद्ध भएपछि राँके–रबि–भेडेटार सडकको कन्याटार–कम्फ््युटर खण्ड अवरुद्ध छ । सडक अवरुद्ध हुँदा यहाँको लेखगाउँ, खोलाखर्क, भाङटार लगायत क्षेत्रका १२६ परिवारका ६६४ जना स्थानीयवासी सडकको पहुँचबाट बाहिर छन् । आपतकालीन अवस्था आइलागे झण्डै दुई घण्टा पैदल यात्रा गरेर पहिरोसहितको भीर छिचोल्नुपर्ने उनीहरुको बाध्यता छ । यस्तै पहिराले क्षतविक्षत बनाएको विद्युत अझैसम्म सुचारु हुन नसक्दा स्थानीयवासीको दीपावली अन्धकारमा वित्ने भएको छ । स्थानीयवासीले दशैंका लागि जोहो गरेको खाद्यान्नले अहिलेसम्म गुजारा चलाइरहेका छन् ।

मिक्लाजुङ–७ भाङटारका राजन बानु राईका अनुसार मिक्लाजुङ–६ कन्याटार क्षेत्रबाट सडक खुलाउने प्रयास भइरहेपनि सफल हुन सकेको छैन् । “सडकमा ठू–ठुलो पहिरो गएका कारण उल्लेख्य काम हुन सकिरहेको छैन्”, राईले टेलिफोनमा भन्नुभयो, “खानेपानी, विद्युत लगायत संरचनाको पुनर्निर्माण नहुँदा हामी धेरै समस्या छौँ ।” यहाँ पहिरोका कारण दुई जनाको ज्यान जानुका साथै एक दर्जन बढी परिवार प्रभावित भएका छन् । जसमध्ये तीन परिवार त छिमेकीको शरणमा बसिरहेका छन् । “सडक नखुलेर हो या किन हो थाहा भएन । तर अहिलेसम्म यहाँ कोही राहत लिएर आइपुगेका छैनन्”, राईले भन्नुभयो, “यसपालि त हामीलाई चाडपर्वले छोएको छैन् ।”

यहाँका स्थानीयवासी विरामी परे उपचार गर्ने आधारभूत स्वास्थ्य केन्द्र समेत यहाँ छैन् । “आकस्मिक विरामी परे अस्पतालसम्म लैजान निकै कठिन छ”, स्थानीय मधुप्रेम राईले भन्नुभयो, “हामी त नाकाबन्दीको अवस्थामा परेका छौँ । बाटो चाहिँ चाडो खुलाउन सके सहज हुन्थ्यो ।” लामो समयसम्म सडक अवरुद्ध बनिरहे विरामीलाई उपचारमा लैजान, खाद्यान्नको प्रवन्ध गर्न कठिन पर्ने स्थानीयवासीको चिन्ता छ । सडक अवरुद्ध हुँदा खाद्यान्न लगायत अत्यावाश्यक सामग्रीको अभाव खड्किने अवस्था आएको लेखगाउँका स्थानीयवासी समेत रहनुभएका शिक्षक सञ्जय राईले वताउनुभयो । मिक्लाजुङ गाउँपालिकाले राकेँ–रबि–भेडेटार सडक आयोजना कार्यालयसँगको समन्वयमा सडक खुलाउने प्रयास थालेपनि सफल हुन सकेको छैन् । वेमौसमी वर्षापछि यहाँका सबै खोला खोल्सीमा बाढी आउनुका साथै यत्रतत्र पहिरो झरेपछि पुनर्निर्माणको कुनै पनि कार्य समयमा अगाडि बढ्न सकेको छैन् ।

मिक्लाजुङ–५ बालुवानीदेखि मिक्लाजुङ–७ कम्फ््युटारका वीचमा सडकमा सयौँ स्थानमा पहिरो झरेको छ । कतिपय स्थानमा सडक पहिरोले बगाएको छ । यी स्थानमा सडक निर्माणमा लामो समय लाग्ने अवस्था छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले पहिरोले गाउँपालिका क्षतविक्षत हुनुका साथै स्थानीयवासीले ठूलो समस्या भोगिरहँदा सरकारी निकायले उचित सहयोग र समन्वय नगरेको गुनासो गर्नुभयो । “समयमै सडक सुचारु गराएर सम्भावित कठिनाई रोक्न सहयोग मागिरहेको छु”, अध्यक्ष माखिमले भन्नुभयो, “प्रशासनिक निकायले विभागीय कार्यालयहरुलाई संरचना पुनर्निर्माणमा परिचालन नगर्दा हामीले ठूलो समस्या भोग्नु परिरहेको छ ।”

गत कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको वेमौसमी वर्षाका कारण बाढी र पहिरो जाँदा मिक्लाजुङ क्षतिग्रस्त बनेको हो । पहिरोमा परी यहि गाउँपालिकाका मात्रै २२ जनाको मृत्यु भएको छ भने तीन जना अझैसम्म बेपत्ता छन् । बाढी र पहिरोले निर्माणाधीन राँके–रबि–भेडेटार सडकको मिक्लाजुङ गाउँपालिका खण्डमा अत्यधिक क्षति पु¥याएको छ । मिक्लाजुङ गाउँपालिका भित्रका अन्य सडकहरु समेत क्षतिग्रस्त छन् । बाढी र पहिरोले विद्युत, खानेपानी, सिंचाई लगायतका संरचना क्षति पु¥याउँदा स्थानीयवासी समस्या भोग्न बाध्य बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्