पहिराले क्षतविक्षत भयो मिक्लाजुङ



पाँचथर, १७ कात्तिक

‘पच्चिस सालको पैरो
निङ्वा मैरो’

अर्थात २०२५ सालमा गएको पहिरोले मन उडायो, विरक्त लगायो ।

लिम्बु समुदायमा धान नाच्दा गाइने पालाम (धान नाच्दा गाइने दोहोरी) को यदाकदा सुनिने एक पङ्ती हो यो । दुई पक्षले सवाल–जवाफमा गाइने पालाममा वि.सं. २०२५ सालमा वेमौसमी वर्षाका कारण गएको पहिरोले गरेका क्षतिका विषयहरु समेटिएका छन् । मिक्लाजुङ गाउँपालिका–५ चिसापानी पञ्चमीका पदमशेर लावतीका अनुसार पालाममा भनिएअनुसार उक्त पहिरोले मन मात्रै उडाएको थियो ।

तर यसपालीको पहिरोले भने आँशु नै झा¥यो । पहिरोमा परी लावतीका छोरा विष्णुबहादुरको ज्यान गयो भने खेतबारीमा ठूलो क्षति ग¥यो ।
हुन् पनि वेमौसमी वर्षाका कारण यत्रतत्र पहिरो जाँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका क्षतविक्षत बनेको छ । गत कात्तिक १ गतदेखि ३ गतेसम्म निरन्तर परेको वर्षाले यहाँका सयौं स्थानमा पहिरो झरेको छ । यत्रतत्र पहिरो झर्नुका साथै खोला तथा खोल्सीहरुमा बाढी आएको छ ।

जसले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ । पहिराका कारण मिक्लाजुङ गाउँपालिकाको वडा नं. ५ र ७ को स्वरुप नै फेरिएको छ । खेतीयोग्य जमिनहरु भीर, पाखो र बगर बनेका छन् । सयौं घरहरुमा क्षति पुगेको छ । भूकम्पले जस्तै पहिरोले जमिन थाङथिलो हुँदा स्थानीयवासी भविश्यमा कहाँ जाने भन्ने चिन्तामा डुबेका छन् । बाँकी छ वटा वडाहरुमा पनि पहिराले क्षति पु¥याएको छ ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार पहिराबाट भौतिक संरचनाहरुमा भएको क्षतिको विवरण अझैसम्म यकिन हुन सकेको छैन् । यहाँका हजारौं घर, गोठ पूर्ण वा आंशिक क्षति पुगेको छ । स्थानीयवासीका खेत बारीमा लगाएको बाली त नष्ट भयो नै, ती ठाउँ भविश्यमा खेती लगाउन नमिल्ने बनेका छन् । सडक, खानेपानी, विद्युत, सिंचाई, विद्यालय, मठमन्दिर लगायत भौतिक संरचनामा पुगेको क्षतिको विवरण वडाहरुले तयार पार्न सकेका छन् ।

“सबै ठाउँमा ठूलो क्षति पुगेको छ । बाटाहरु बन्द छन्, विद्युत अवरुद्ध छ”, गाउँपालिका अध्यक्ष माखिमले भन्नुभयो, “के–कति क्षति भयो भन्ने कुराको लगत सङ्कलन गर्न वडाहरु भनेका छौँ । तर उहाँहरुले समेत तत्कालै पूर्ण विवरण तयार पार्नसक्ने अवस्था छैन् ।” पहिराका कारण मिक्लाजुङ गाउँपालिका भित्रका अधिकांश सडकहरु क्षतविक्षत बनाएको छ । राँके–रबि–भेडेटार सडकको कन्याटार–कम्फ्युटार खण्डमा मात्रै सयौं साना–ठूला पहिरा झर्दा सडक खुलाउन हप्तौं लाग्नसक्ने अवस्था छ । विद्युतका पोल तथा तारहरु खोलामा पुगेका छन् । कतिपय सिंचाई कुलोहरुको नाश निशान नै मेटिएको छ ।

बाढी र पहिराका कारण मिक्लाजुङमा मात्रै २२ जनाको मृत्यु हुनाका साथै तीन जना अझैसम्म वेपत्ता छन् । बाढी र पहिराले विस्थापित बनेका सयौँ स्थानीयवासी छरछिमेकी तथा आफन्तकहाँ शरण लिएर बसेका छन् । घरबार नहुनेहरु पुनःस्थापनाको प्रतीक्षामा छन् भने भएको घरबार जोखिमयुक्त बनेकाहरु अन्यौलमा दिन काटिरहेका छन् । पहिरोले घर बगाएपछि स्थानीय क्लबको सहयोगमा बसिरहेका मिक्लाजुङ–७ लेखगाउँका रविन राईले भन्नुभयो, “अहिलेसम्म गाउँपालिका अध्यक्ष बाहेक कोही पनि हामीलाई भेट्न आउनुभएको छैन् । खोई कहाँबाट सहयोग पाइएला र घर बनाउन सकिएला ?”

मिक्लाजुङ–५ का भकेन्द्र लावतीका अनुसार पहिरोका कारण गाउँको संरचनामै परिवर्तन आएको छ । भूकम्पले जस्तै खेतबारी क्षतविक्षत बनेको र पुनः खेती लगाउन सकिने अवस्था नरहेको उहाँको भनाई छ । “हाम्रो वडाको ठूलो वस्तीलाई स्थानान्तरण गर्नु नै पहिरोबाट हुनसक्ने क्षतिको दीर्घकालीन समाधान हो”, लावतीले भन्नुभयो, “वर्षा भएमा जोखिम उत्तिकै छ ।”

आँगनसम्म पहिरो आएपनि डराएर आफ्नै ठाउँमा जिविका चलाउनुको विकल्प आफूहरुले पाउन नसकेको मिक्लाजुङ–१ अठभैयाकी सविना ठटालको भनाई छ । “डर त लाग्छ । यहाँ पहिले पनि पहिरो आएको थियो रे । तर अन्यत्र जानसक्ने अवस्था छैन्”, ठटालले भन्नुभयो ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष माखिम बाढी र पहिराले अकल्पनीय क्षति भएपनि कतैबाट सहयोग पाउन नसकेकामा दुःखि हुनुहुन्छ । “विद्युत, बाटो, खानेपानी अवरुद्ध छ । धेरै संरचनाको पुनःनिर्माण अत्यावाश्यक भएपनि ठोस् सहयोग पाउन सकेका छैनौं”, अध्यक्ष माखिमले भन्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले गत कात्तिक ७ गते यस क्षेत्रको निरीक्षण गरी पीडितलाई सहयोग गर्ने वचन दिनुभएको थियो । तर दुई सातासम्म सरकारी उपस्थितिविना जीवन गुजार्नुपर्दा पीडितहरु निराश देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्