याङवरकमा २५ करोड लागतका तीन ठूला आयोजना निर्माण सुरु



फिदिम, ११ कात्तिक

स्थानीय तहले पर्‍याप्त र अपेक्षित काम नगरेको भनेर बेलाबखत आलोचना हुने गर्छ । कतिपय स्थानीय तहले बजेट नपाउँदा अत्यावाश्यक काम पनि गर्न नसकेको गुनासो गर्छन् । आलोचना र बजेट अभावको महशुष पाँचथरको याङवरक गाउँपालिकाले पनि गरेको हो ।

तर निरन्तरको प्रयास, माथिल्ला सरकारको सहयोग तथा स्थानीय आवश्यकतासँग जुध्दै याङवरकले पूर्वाधार विकासमा एक पछि अर्को गर्दै फड्को मारिरहेको छ । यहि क्रममा आर्थिक वर्ष २०७८/०७९ को सुरुआतमै याङवरक गाउँपालिकाले गाउँपालिकाको महत्वका करीब रु. २५ करोड लागतका तीन वटा ठूला पूर्वाधार आयोजनाको निर्माण थालेको छ । यसका लागि दुई वटा आयोजनाको ठेक्का सम्झौता भइसकेको छ भने एउटाको बोलपत्र आव्हान भई निर्माण कम्पनी छनौट हुन लागेको छ ।

याङवरक गाउँपालिका वडा नं. ४ थर्पुको बरडाँडामा आधारभूत अस्पताल निर्माणको ठेक्का सम्झौता सम्पन्न गरेको छ । गाउँपालिकाले आव्हान गरेको ठेक्का प्रस्तावअनुसार गत साउन २१ गते आधारभूत अस्पतालको निर्माण सम्झौता भएको हो । गाउँपालिकाका इन्जिनियर शरद दाहालका अनुसार नमूना वीर जेभी मोरङले भ्याट सहित रु. १४ करोड ५७ लाख २२ हजार ६४४ को लागतमा आधारभूत अस्पताल निर्माणको ठेक्का पाएको छ । दुई वटा ठूला ब्लक सहितको अस्पताल निर्माण कार्य २०८० साल भदौ १ गते सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । संघीय सरकारको लगानीमा बन्न १५ शैय््याको अस्पताल निर्माण हुन लागेको हो ।

यस्तै याङवरक गाउँपालिकाको पहिचानका रुपमा स्थापित याङवरक पोखरी संरक्षण तथा पर्यटकीय पूर्वाधार निर्माणका लागि समेत ठेक्का सम्झौता सम्पन्न गरेको छ । ‘निशान कालिका धाम तथा याङवरक पोखरी संरक्षण’ आयोजनाका लागि रु. ६ करोड ४४ लाख २५ हजार ९२ लागतमा पोखरीको संरक्षण तथा पर्यटकीय संरचना निर्माण हुन लागेको हो । सीएम–जोशी–आँशु जेभी काठमाण्डौंसँग गत भदौ २४ गते सम्पन्न सम्झौताअनुसार २०८१ साल असोज १ गतेभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने ब्यवस्था रहेको इन्जिनियर दाहालले जानकारी दिनुभयो ।

यस आयोजनाअन्तर्गत याङवरक पोखरीको संरक्षण सहित पर्यटकीय संरचनाहरु, मन्दिर लगायत संरचनाहरु निर्माण हुनेछन् । याङवरक गाउँपालिकाले विशेष महत्व दिएको यस स्थानमा ब्यवस्थित संरचनाहरु निर्माण हुन लागेका हुन् । निशान कालिका धामतर्फ घेराबारा, मन्दिर पुनःनिर्माण, टायल विच्छ्याउने काम निजी तथा सरकारी लगानीमा करीब पूरा हुन लागेको छ ।

यस्तै याङवरक गाउँपालिकाको लगानीमा वहुउद्देश्यीय कवर्डहल निर्माणका लागि बोलपत्र आव्हान भएको छ । गाउँपालिकाले तीन वटा ब्याडमिन्टन कोड, एउटा भलिवल कोड, ५०० जना दर्शक अटाउने प्याराफिट, बाहिरी सजावट सहितको कवर्डहल निर्माणका लागि वोलपत्र आव्हान गरेको हो । कवर्डहल निर्माणका लागि रु. चार करोड तीन लाख लागत अनुमान गरिएको गाउँपालिकाका इन्जिनियर दाहालले जानकारी दिनुभयो ।

याङवरक गाउँपालिकाले एकै पटक तीन ठूला पूर्वाधार निर्माणको सुरुआत गर्न लागेको हो । गाउँपालिकाले प्रशासकीय पूर्वाधार निर्माणलाई अगाडि बढाई प्रशासकीय भवन र कार्यालय नभएका दुई वटा वडामा वडा कार्यालय भवन निर्माण गरिरहेको छ । गाउँपालिकाको संस्थागत विकास तथा तीन तहको संघीय संरचनाको सम्वद्र्धनमार्फत नागरिकलाई आफ्नै घर आँगनमा सेवा दिन यस प्रकारका संरचना निर्माणले ठूलो सघाउ पुग्ने याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले वताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङले गाउँपालिका निर्माण भएपछि निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकालमै अत्यावाश्यक पूर्वाधारका अधिकांश योजना निर्माण सम्पन्न हुने वा निर्माणको चरणमा पुग्ने वताउनुभयो । उहाँले सेवा प्रवाहमा पूर्वाधारका संरचनाले ठूलो सहयोग गर्ने भएकाले गाउँपालिकाले प्राथमिकतामा राखेको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्