बाढीमा वेपत्ता थप एकको शव फेला, पाँचथरमा मृतकको संख्या ३१ पुग्यो



फिदिम, ९ कात्तिक

बाढीले वगाएर एक सातादेखि वेपत्ता भएका एक ब्यक्तिको शव फेला परेको छ ।

मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर वेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आले मगरको शव हिँजो फेला परेको हो । मालुवा आएको बाढीले उनी सहित उनकी भतिजी सम्पदा आले मगर समेतलाई बगाई वेपत्ता बनाएको थियो । स्थानीयवासी र प्रहरीले खोजी कार्य जारी राखेकामा सम्पदाको शव तीन दिनअघि यहाँको शिवा खोलामा फेला परेको थियो । प्रेमको शव हिँजो शिवा खोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

योसँगै पाँचथरमा बाढी पहिरोमा परी कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । बाढी पहिरोमा परी अझै तीन जना वेपत्ता छन् । उनीहरु सबै जिल्लाको मिक्लाजुङ गाउँपालिकाका हुन् । वेपत्ताहरुको खोजीका लागि प्रहरीको तालिम प्राप्त कुकुर झिकाइएको छ । तालिम प्राप्त कुकुर सहितको टोली हिँजो मिक्लाजुङ–४ रबि आइपुगेको र आजबाट खोजी कार्य सुरु हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्