भारत–पाकिस्तान क्रिकेटः पाकिस्तानले इतिहास रच्दा यस्तो छ विगत



एजेन्सी । आइसिसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानले भारतलाई हराएको छ। आइतबार दुबईमा भएको खेलमा भारतमाथि पाकिस्तानले १० विकेटको फराकिलो अन्तरको जित हात पारेको हो। विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो। यसअघि भारतविरुद्ध एकदिवसीय र टी–२० विश्वकपमा खेलेका कूल १२ खेलमा पाकिस्तान पराजित भएको थियो।

सन् १९९२ देखि विश्वकपमा खेलेका सबै खेलमा हार बेहोरेको पाकिस्तानले २९ वर्षपछि जित हात पारेको हो। आइतबार भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाइ १७.५ ओभरमा पूरा गर्‍यो।

पाकिस्तानका लागि ओपनद्वय मोहमद रिजवानले नटआउट ७९ रन र बाबर अजामले नटआउट ६८ रन जोडे। रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का तथा बाबरले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरे। त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १५१ रन जोड्यो।

भारतका लागि कप्तान विराट कोहलीले अर्धशतक प्रहार गरे। उनले ५७ रन जोडे। साहीन शाह अफ्रिदीको बलमा आउट हुनुअघि उनले ४९ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे।

ओपनरद्वय केएल राहुल र रोहित शर्मा सस्तैमा आउट भए। राहुल ३ रन र रोहित शून्यमा आउट भएका थिए। दुवैलाई पाकिस्तानका साहीन शाह अफ्रिदीले सिकार बनाएका थिए।

सूर्यकुमार यादवले ११ रन र रिशव पन्तले ३९ रन जोडे। रिशवले ३० बल खेल्दा २ चौका र २ छक्का हिर्काए। रवीन्द्र जडेजाले १३ रन जोडे। हार्दिक पाण्ड्या ११ रनमा आउट भए।

बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदीले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा ३० रन खर्चिए। हसन अलीले २ विकेट हात पारे। उनले ४४ रन खर्चिएका थिए। यस्तै शादब खान र हरिस राउफले १(१ विकेट हात पारे।

यसअघि भारत र पाकिस्तानबीचको विश्वकपको नतिजा

टी–२० विश्वकप

२००७ – भारतद्वारा पाकिस्तान बलआउट (खेल बराबरी भएको) मा पराजित
२००७ – भारतद्वारा पाकिस्तान ५ रनले पराजित (फाइनल)
२०१२ – भारतद्वारा पाकिस्तान ८ विकेटले पराजित
२०१४ – भारतद्वारा पाकिस्तान ७ विकेटले पराजित
२०१६ – भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित

एकदिवसीय विश्वकप

१९९२ – भारतद्वारा पाकिस्तान ४३ रनले पराजित
१९९६ – भारतद्वारा पाकिस्तान ३९ रनले पराजित
१९९९ – भारतद्वारा पाकिस्तान ४७ रनले पराजित
२००३ – भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित
२०११ – भारतद्वारा पाकिस्तान २७ रनले पराजित
२०१५ – भारतद्वारा पाकिस्तान ७६ रनले पराजित
२०१९ – भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

प्रतिक्रिया दिनुहोस्