बस दुर्घटनाका घाइतेको संख्या ६४ पुग्यो



पाँचथर, ८ कात्तिक

पाँचथरमा बस दुर्घटनामा घाइते हुनेको संख्या ६४ पुगेको छ । उनीहरु मध्ये २४ जनाको जिल्ला अस्पताल र बाँकीको सपर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको भएपनि प्रहरी र अस्पतालले विस्तृत विवरण उपलब्ध गराएका छैनन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि झापा लैजाने तयारी भइरहेको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करीब ११ः३० बजे सडकबाट झरेर दुर्घटनामा परेको हो । अर्को सवारीको साधनलाई उचिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करीब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरु घाइते भएका छन् ।

दशैंमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घटनामा परेका हुन् । कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोला स्थित पुलको भाग भत्केपछि यात्रुहरु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दुरी पार नहुँदा बस दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्