फिदिममा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते, केहीको अवस्था चिन्ताजनक



पाँचथर, ८ कात्तिक

पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा सडकबाट झरेर दुर्घटनामा परेको हो । अर्को सवारीको साधनलाई उचिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करीब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरु घाइते भएका छन् ।

घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पलात पाँचथर सहित समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १० जना यात्रुको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि झापातर्फ पठाउने तयारी भइरहेको छ ।

दशैंमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घटनामा परेका हुन् । कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोला स्थित पुलको भाग भत्केपछि यात्रुहरु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दुरी पार नहुँदा बस दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्