‘नयाँ माटो’मा पहिलो वर्ष नै हौसिएर फल्यो अकबरे (फोटो फिचर सहित)



फिदिम, ८ कात्तिक ।

अकबरे खुर्सानी खेतीको पकेट कार्यक्रम सञ्चालन गर्नुपर्ने भएपछि याङवरक गाउँपालिका–३ ओयामका शैमेन्द्र सेलिङ सहित तीन युवाले गत जेठमा लहलह भएको मकैका बोट काट्न थाल्नुभयो । १३ रोपनी खेतमा सुत्ला च्यापेको मकैका बोट धमाधम काटेको देखेपछि छिमेकीहरुले उहाँहरुलाई ‘बहुलाएछन्’ भने ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्राप्त हाते ट्र्याक्टरले गाउँमै पहिलो पटक उहाँहरुले जोत्नुभयो । याङवरक–६ नागीमा अकबरे खुर्सानीका विरुवा पाएपछि उहाँहरुले लगेर रोपण गर्नुभयो । “तीन दिनसम्म खुर्सानीका विरुवा हरियो नफिर्दा छिमेकीहरुले साँच्चै भने कि के हो जस्तो लागेको थियो”, विगत सम्झदै सेलिङले भन्नुभयो, “विरुवा बाँच्नेजस्तो भएपछि अलिअलि शास आयो ।”

त्यसपछि खुर्सानीका विरुवा लहलह बढे । सेलिङको समूहले गाउँपालिकाका कृषि प्राविधिकहरुसँग निरन्तर परामर्श गरी खेती गर्नुभयो । आफैँ लगानी गरेर गोठ सुधार गर्नुभयो । गाई भैंसीको मुत्र तथा झोल मल प्राविधिक सल्लाहअनुसार विरुवामा लगाएपछि खुर्सानी फल्न थाल्यो । अब उहाँहरुमा छिमेकीले भन्न थाले, “खुर्सानी त फलायौ, विक्री गर्न गाह्रो छ ।”

बजार पाउने÷नपाउने चिन्ताले उहाँहरुलाई पिरोल्न थाल्यो । हुँदा–हुँदै भदौ अन्तिमदेखि खुर्सानी पाक्न थाल्यो । गाउँपालिकाका प्राविधिक सहित याङवरक–६ मा खुर्सानी खेती गरेकाहरुसँग उहाँहरुले सम्पर्क गर्नुभयो । सेलिङको समूहले १३ रोपनी क्षेत्रफलमा लगाएको खुर्सानी दुई पटक टिपेर विक्री गरिसकेको छ ।

“२५० रुपैयाँदेखि २८० रुपैयाँका दरले ७०० किलो खुर्सानी बेचिसक्यौँ”, सेलिङले भन्नुभयो, “अझै दुई÷तीन पटक विक्री गर्न सकिन्छ होला ।” खुर्सानी बेचेर सेलिङको समूहले आकर्षक आम्दानी गरेको देखेपछि अहिले उहाँका छिमेकीहरु सबै खुर्सानी खेती गर्छौँ भन्न थालेका छन् ।

“अहिले त सबैले म पनि रोप्छु भन्न थालेका छन्”, सेलिङले भन्नुभयो, “यस प्रकारको उत्साह आएपछि अब अकबरे खुर्सानी खेतीमा हामी ब्यक्तिगत रुपमा अरुलाई सहयोग गर्छौँ ।” सहज बजार पहुँचका लागि एक टिपाईमा एक पिकअप खुर्सानी भर्ने लक्ष्यले सेलिङको समूह अगाडि बढेको छ । एक पिकअपमा २० क्विन्टल (दुई हजार किलोग्राम) लोड हुन्छ ।

सेलिङ मात्रै होइन् याङवरक गाउँपालिका–३ का ३० जनाभन्दा बढी कृषकका छ वटा समूहले अहिले ब्यवसायिक अकबरे खुर्सानीको खेती गरेका छन् । विगतमा कहिल्यै यस प्रकारको ब्यवसायिक उत्पादन नभएको ओयाममा पहिलो वर्ष नै प्रशस्त खुर्सानी फलेको हो । याङवरक गाउँपालिकाले संघीय सरकारसँगको साझेदारीमा सञ्चालनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अकबरे खुर्सानी पकेट विकास कार्यक्रमले यस्तो रुपान्तरण ल्याएको हो ।

गाउँपालिकाले यहाँको आदर्श कृषि वहुउद्देश्यीय सहकारी संस्थामार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अकबरे खुर्सानी ब्लक विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रममा उक्त सहकारीका सदस्यहरु मध्येबाट छ वटा समूहका ३० जना आवद्ध भई ब्यवसायिक अकबरे खुर्सानी उत्पादन थालेको सहकारीका अध्यक्ष तेजबहादुर योङ्याले वताउनुभयो ।

यी समूहहरुले ओयामका विभिन्न सात स्थानमा अकबरे खुर्सानी उत्पादन थालेका हुन् । ढिला गरी उक्त कार्यक्रमबारे गाउँपालिकामा जानकारी आएकाले हतारोमा कार्यक्रम सुरुआत भएपनि अकबरे खुर्सानीको उत्पादन आकर्षक रहेको अध्यक्ष योङ्याको भनाई छ ।

याङवरक गाउँपालिकाले वडा नं. ६ मा तरकारी उत्पादन तथा वडा नं. ३ मा अकबरे खुर्सानी कार्यक्रम छनौट गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याएको हो । वडा नं. ३ मा सञ्चालित पकेट विकास कार्यक्रममा लागि संघीय सरकार र गाउँपालिकाले रु. १२ लाख लगानी गरेका छन् । यस्तै सहकारी तथा सहकारी तथा कृषकहरुले रु. ७ लाख ७५ हजार साझेदारी गरी कूल रु. १९ लाख ७५ हजारको लागतका कार्यक्रम सञ्चालनमा आएको हो ।

न्यूनतम सात हेक्टर क्षेत्रफलमा एकै स्थानमा खेती लगाइएको हुनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मापदण्ड भएपनि गत वर्ष ढिला गरी कार्यक्रम प्राप्त भएकाले धेरै स्थानमा खुर्सानीको खेती भएको गाउँपालिकाका कृषि प्राविधिक प्रेम सिग्देलको भनाई छ ।

गत वर्षको बजेटबाट अकबरे खुर्सानीको विउ विजन खरिद, ५० प्रतिशत छुटमा हाते ट्र्याक्टर खरिद, ७५ प्रतिशत छुटमा सिंचाईका सामग्री खरिद, तराजु क्यारेट लगायत सामग्री खरिद, अकबरेको खेतीसम्बन्धी जानकारीमूलक तालिम लगायत कार्यक्रम भएका छन् ।

पाँचथरमा जिल्लाको फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिन अकबरे खुर्सानी खेतीका लागि प्रसिद्ध छ । उक्त स्थानमा ब्यवसायिक रुपमा भइरहेको अकबरे खुर्सानीको खेती क्रमशः विस्तार भई नयाँ ठाउँ र ‘नयाँ माटो’मा पुग्दा राम्रोसँग उत्पादन दिन थालेको छ । थोरै कामबाट धेरै आम्दानी गर्न सकिने र अक्सर बजारको समस्या नहुने भएपछि कृषकहरु समेत अकबरे खुर्सानीको खेतीतर्फ आकर्षित भएका छन् ।

मल्चिङ प्रविधिले धेरै फाइदा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नामजस्तै कृषिको आधुनिकीकरणका लागि यहाँ अकबरे खुर्सानी खेतीमा मल्चिङ गरिएको छ । मल्चिङ भनेको बजारमा पाइने मल्चिङ प्लाष्टिकले खेती लगाइएको जमिनलाई मादण्डअनुसार ढाक्नु हो ।

पहिलो पटक यहाँ प्रयोग गरिएको मल्चिङ प्रविधिले कृषकहरुलाई धेरै फाइदा गरेको छ । मल्चिङ गरेपछि गोडमेल गर्न सहज हुने, माटोमा रहेको मलखाद बगाउने समस्या नहुने, सिंचित गर्न सहज हुन्छ । मल्चिङ गर्दा माटोको ड्याङ बनाई १२० सेन्टिमिटरको मल्चिङ प्लाष्टिक हाली दुवैतर्फ १०÷१० सेन्टिमिटर पुरिन्छ ।

विरुवा भएको भाग तथा मलखाद प्रयोग गर्नुपर्ने भए सो भागमा प्वाल पारिन्छ । बाँकी ठाउँ मल्चिङ प्लाष्टिकले ढाकिएको हुन्छ । मल्चिङ प्लाष्टिकका दुई पाटा दुई रङ्गका हुन्छन् । वर्खाको समयमा कालो भागलाई माटोतर्फ फर्काइन्छ । अध्याँरो हुने भएपछि मल्चिङ प्लाष्टिकले छोपेको ठाउँमा अरु विरुवा उम्रदैनन् ।

हिउँदमा भने कालो भागलाई माथि फकाई सेतो भागलाई माटोतर्फ हालिन्छ । मल्चिङ गर्दा दुई ड्याङको वीचमा ५० सेन्टिमिटर खाली ठाउँ राखिन्छ । उक्त खाली ठाउँबाट चिसो घुस्ने र विरुवामा सहजै सिंचाई हुने कृषि प्राविधिक सिग्देलको भनाई छ ।

मल्चिङ गरेका कारण खुर्सानीका सबै विरुवा सप्रिएर आएको कृषक सेलिङ वताउनुहुन्छ । “मल्चिङ नगरेका ठाउँमा सबै विरुवा मरे । कतिपयमा अरु रोग किरा देखिए”, सेलिङले भन्नुभयो, “हामी ब्यवहारमै आधुनिक खेती गर्न चाहने भएकाले प्राविधिकको सल्लाहअनुसार अगाडि बढ्यौँ ।”

कृषकहरुले आफैँले भकारो सुधार गरी झोलमल र मुत्रको प्रयोग गर्नाले अकबरे खुर्सानी लटरम्म फलेको छ । दुई पटक टिपेर विक्री गरिसक्दा समेत नयाँ फूल लाग्न नछाडेपछि कृषकहरुलाई झनै उत्साहित छन् । कतिपय ठाउँमा भने प्राविधिकको नियमित सल्लाह नलिँदा तथा उचाई र तापक्रमका कारण खुर्सानीमा समस्या समेत देखिएको छ ।

अलैंचीभन्दा राम्रो आम्दानी

परीक्षणका रुपमा लगाइएको अकबरेको खेतीबाट पहिलो वर्ष नै आकर्षक आम्दानी हुने भएपछि कृषकहरुले अकबरे खुर्सानीमा थप लगानी गर्न लालायीत देखिन्छन् । “लगानी गर्नसके राम्रै आम्दानी गर्न सकिने रहेछ”, कृषक सेलिङले भन्नुभयो, “अलैंचीभन्दा राम्रो फाइदा हुने रहेछ ।”

श्रम र मलमा धेरै ब्यक्तिगत लगानी भएको भएपनि गाउँपालिकाबाट राम्रो प्राविधिक, उपकरण तथा परामर्श सहयोग प्राप्त हुँदा ब्यवसायीक खुर्सानी उत्पादन गर्ने हौसला मिलेको उहाँको भनाई छ । अगुवा कृषक सेलिङको समूहले अहिले थप ४० रोपनी जग्गा लिजमा लिई अकबरे खुर्सानी खेती गर्ने सोच बनाएको छ । यसका लागि १० हजार विरुवा उत्पादन गर्न तयारी गरिएको छ ।

सहकारीका अध्यक्ष योङ्या अकबरेको खेतीबाट गाउँ–घरमै बसेर पनि आकर्षक आम्दानी हुनसक्ने देखिएको वताउनुहुन्छ । “प्राविधिक ज्ञान र तौर तरिका राम्रोसँग बुझेर काम थालेमा राम्रै आम्दानी हुने रहेछ”, योङ्याले भन्नुभयो ।

राज्यको सहयोग पाइने र बजारको समस्या नहुने हुनाले कृषकहरु अकबरेको खेतीतर्फ थप आकर्षित हुने योङ्याको विश्वास छ । कृषि प्राविधिक सिग्देलका अनुसार चालु आर्थिक वर्षमा उक्त पकेट कार्यक्रमका लागि रु. छ लाख बजेट प्राप्त भएको छ ।

कृषिको आधुनिकीकरणमार्फत स्थानीय आयआर्जन वृद्धि गर्ने, सकेसम्म गाउँमै स्वरोजगार बनाउने, लघु तथा घरेलु उद्योग स्थापना र सञ्चालन गर्ने स्थिति निर्माणका लागि याङवरक गाउँपालिकाले उत्पादनका कार्यक्रमहरु गाउँपालिकामा भित्र्याउन प्रयत्न गरिरहेको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेको भनाई छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले राम्रो प्रतिफल दिए यो र यस प्रकारका कार्यक्रमहरु झनै ब्यापक र विस्तार गर्दै लैजाने र कृषकहरुको हित एवं कृषिको ब्यवसायिक विकासमा मद्दत गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष घिमिरेले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्