थप उपचार पर्खदै दुर्घटनाका घाइते



पाँचथर, ८ कात्तिक

आज दिउँसो पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् ।

जिल्ला अस्पताल सहित अन्य दुई निजी अस्पतालमा पु¥याइएका घाइतेहरुमा रहेको चोट पटकको पूर्ण परीक्षण तथा उपचार हुन सकिरहेको छैन् । तीन वटै अस्पतालका स्वास्थ्यकर्मीहरु घाइतेहरुको उपचारमा जुटेपनि अधिकांश घाइतेहरुको अवस्था गम्भीर हुनाले उपचार हुन सकिरहेको छैन् । अधिकांश घाइतेहरु रगतपच्छे छन् । जिल्ला अस्पतालमा बेड खाली नभएपछि वैकल्पिक ब्यवस्थापन गरेर समेत स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा जुटेका छन् ।

अधिकांश घाइतेहरु थप उपचारका लागि सुविधासम्पन्न अस्पताल जान खोजिरहेका छन् । कतिपय घाइते बोल्न नसक्ने अवस्थाका छन् भने केही बालबालिका समेत छन् । हालसम्म फिदिममा उपचाररत १२ जना घाइतेहरुलाई थप उपचारका लागि तराईका जिल्लाका अस्पतालहरुमा रेफर गरिएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार घाइतेहरुलाई बाहिर जिल्लाका अस्पतालमा रेफर गर्न एम्बुलेन्सको अभाव भएको छ । एम्बुलेन्स उपलब्धताको सरकारी अधिकारीहरुले प्रतिक्रिया दिएका छैनन् । विरामीहरुको उपचारका लागि हेलिकप्टरको प्रवन्ध गरिएको वताइएपनि हालसम्म हेलिकप्टर आइसकेको छैन् ।

आज विहान ११ः३० बजे भएको बस दुर्घटनामा घाइते भएकामध्ये हालसम्म चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ नगरपालिका–६ मोरङका ७ वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान र उनकै सात महिने छोरा निश्चल देवानको मृत्यु भएको हो । एक जना मृतकको पहिचान हुन नसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुर्घटनामा थप ६१ जना घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्